१७ श्रावण २०७७
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाभित्रको बसह विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्नेमा रहेको बताएका छन् । शनिबार तुलसीलाल अमात्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्नेमा जोड दिदै आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने रहेकोले जनताको चाहनालाई कदर गर्न एकतालाई उच्चस्तरमा सुदृढ गर्नुपर्नेमा जोड दिए ।
प्रचण्डले पार्टीमा बहस र विवाद हुनु सामान्य कुरा भएको बताउँदै प्रतिक्रियावादीहरूले पद प्राप्तिको झिनाझम्टी भन्ने गरेकोले नपत्याउन सबैमा अनुरोध गरे ।
‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो । पद हाम्रो विषय होइन । राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं ।’ –प्रचण्डले भने, ‘कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकोले बहस हुने कुरा स्वभाविक हो । मैले संविधान बनाउने बेलामा पनि, स्थानीय तहको निर्वाचन गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर स्पष्ट पारेका थियौं ।’
अहिलेको बहसले पार्टी फुटाउने प्रवृत्ति परास्त हुने दावी गर्दै अध्यक्ष प्रचण्डले अहिले भइरहेको बहसलाई छोपछाप गर्न नहुने बताए । ‘अहिलेको बहस तिखो भइरहेको छ । हामीभित्रको तिखो बहस चलिरहेको छ, चिल्ला शब्द छैनन् । इतिहासको अनुभवबाट शिक्षा लिएर पार्टी एकता कायम गर्नुको विकल्प छैन ।’ उनले भने, ’पार्टीै फुटाउने प्रवृत्तिई परास्त हुन्छ, गरिनेछ । बहसले माथिल्लो स्तरमा लगेर पार्टीलाई सुदृढ गर्छ ।’

Comments

comments