१८ श्रावण २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज (आइतबार) करिब ३ घण्टा भेटवार्ता भएको छ । पार्टीको स्थायी कमिटि बैठक एक्कासी एकतर्फी ढंगले ओलीले रोकपछि अध्यक्षद्वयको यो पहिलो भेटवार्ता हो ।
अध्यक्षद्वयको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्बाङ पनि सहभागी थिए । ‘छलफल निकै सकारात्मक भएको छ । धेरै समय पश्चात दुई अध्यक्षको बीचमा त्यति हार्दिकता पूर्वक छलफल भयो जस्तो मलाई लाग्छ ।’ नेम्वाङले जानकारी दिए । उनका अनुसार अध्यक्षद्वयबीच भोलि बिहान पुनः भेट्ने कार्यक्रम छ । भेटवार्तामा खनाल र नेम्बाङ पनि सहभागी हुनेछन् ।
‘आजको छलफलमा पार्टीको बैठक औपचारिक रुपमा कसरी सुरु गर्ने भन्ने सम्बन्धमा पनि छलफल भएको थियो । अहिले देखापरेका समस्यालाई दुई अध्यक्षको बीचमा छलफल गरेर, निरन्तर वार्ता र संवाद गरेर यो समस्यालाई समाधान गर्नुपर्छ भन्ने कुरामा विवाद रहेन ।’ उनले भने, ‘दुई अध्यक्षको बीचमा छलफल गरेरै यो कुराको टुंगो लाग्छ। यो कुरा निर्विवाद रह्यो। यसका लागि यो छलफललाई सकेसम्म आजै टुंगो लगाउने भनिएको थियो। अन्तिममा यो छलफलले निरन्तरता दिने पाएको छ ।’
गत साउन १३ गते बोलाइएको बैठक निकै तिक्त बनेको थियो । ओलीले एकलौटी बैठक स्थगित गरिदिएपछि प्रचण्ड र माधव कुमार नेपाल पक्षका नेताहरुको बेग्लै बैठक बसेको थियो । बालुवाटारमै बसेको बैठकमा २९ स्थायी कमिटी सदस्य र दुई आमन्त्रित सदस्य उपस्थित रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















