१९ श्रावण २०७७
काठमाडौं । अविरल वर्षाका कारण सिन्धुपााल्चोकको मेलम्चीमा पहिरो जाँदा ८ जना बेपत्ता भएका छन् भने एकजनाको उद्धार गरिएको छ ।
ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङका अनुसार प्रदेश सरकारले बनाउँदै गरेको कभर्डहल निर्माणमा संलग्न कामदार बसेको घर पहिरोले पुरिँदा ८ जना बेपत्ता भएका हुन् भने भने १ जनाको उद्धार भएको छ ।
बेपत्ता हुनेहरुमा वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी, १७ वर्षीय सोनाम लामा र १ जना भारतिय नागरिक राजेन्द्र चौधरी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतीय नागरिक बारु शाहको उद्धार गरि अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
पहिरोमा परेकाहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले उद्धार गरिरहेको छ । पहिरो राति २ बजे गएको हो । पुरिएकामध्ये दुइ जना भारतीय र अन्य वीरगञ्जका भएका कभर्डहल निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनी बज्र निर्माण सेवाका प्रमुख सुवास श्रेष्ठले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















