१९ श्रावण २०७७
काठमाडौँ । संक्रमित र मृतकको संख्या बढ्दै गएपछि पर्सामा आजदेखि जिल्लाभरी नै निषेधाज्ञा जारी गरिएको छ । साउन १० गतेदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा विस्तार गरिएको हो ।
शनिबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान ५ बजेदेखि जिल्लाभर नै अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जारी गरेको सूचनामा निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ।
कोभिड(१९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनासमेत परिचालन गर्ने प्रशासनले जनाएको छ ।
७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
पर्सामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ६१ जना पुरूष र १२ जना महिलामा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । आइतबार राति संक्रमण पुष्टि भएकाहरू १० देखि ७३ वर्ष उमेर समूहका छन् ।
उनीहरू मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका छन् । मास ट्रेसिङमा पीसीआर परीक्षण गराएका २६ जना, एक घर एक परिक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जनामा संक्रमण देखिएको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।