२० श्रावण २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका स्थानीय युवालाई धारिलो हतियार प्रहार गरी घाइते बनाई फरार रहेका एकजना प्रहरीले पक्राउ गरेको छ । प्रहरीको फरार सूचीमा रहेका उनलाई आइतबार बनेपाबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाका अनुसार पक्राउ पर्नेमा तेमाल–४, कल्लेरी निवासी गोविन्द दर्जी रहेका छन् ।
ज्यान मार्ने उद्योग मुद्दा अन्तर्गत फरार रहेका दर्जीलाई जिल्ला अदालत काभ्रेबाट म्याद थप गरि हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको थापाले जानकारी दिए ।
घट्ना गत जेष्ठ १६ गतेको हो । सोही स्थान बस्ने जितमान तामाङसँग दर्जी समूहको सामान्य भनाभन भएको थियो । सोही क्रममा दर्जीको समूहले तामाङ माथि खुँडा, खुकुरी, खुर्पा लगायतका हतियार प्रयोग गरि आक्रमण गरेका थिए । टोलमा हुलहुज्जा गर्ने, दादागिरी देखाउने, उनीहरुको विरुद्ध जसले बोल्यो त्यही माथि आक्रमण गर्ने कार्य दर्जी समूहले गर्दै आएको स्थानीय बताउँछन् । ‘टोले गुण्डाको नाइके नै गोविन्द हुन् । उसको ग्याङले गाउँमा जाँडरक्सी खाने, जोकोहीलाई पनि धम्क्याउने गर्दै आएका छन् ।’ स्थानीय बताउँछन् ।
तामाङ माथि आक्रमण गर्न ५ जनाको समूह आएको र सबैको हातमा धारिलो हतियार रहेको बताइन्छ । दर्जी समूहको आक्रमणबाट जितमानको दुवै हात, टाउको र खुट्टामा खुँडा प्रहार गरी घाइते बनाएको थियो ।
यसैबीच सो घट्नामा संलग्न ४ जना भने अझै फरार रहेको बुझिएको छ । ५ जनाको विरुद्धमा जाहेरी दिएकोमा कान्छा दर्जी, कुमार दर्जी, गणेश दर्जी, बाङ्गे भन्ने रुपक दर्जी प्रहरीको फरार सूचीमा रहेको बुझिएको छ ।
आफूलाई जसरी पनि मिलापत्र गर्न विभिन्न तरिकाले दवाब दिइरहेको पिडित जीतमानले तेमाल अनलाइनलाई बताए ।
फरार रहेकाहरु वडा नं. ४ का वडा अध्यक्ष आसपुर तामाङको संरक्षणमा रहेको स्थानीयले आरोप लगाएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।