२१ श्रावण २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूसँग अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बदला लिन खोजेको आरोप लगाएका छन् । आज केही सञ्चारकर्मीहरुसँगको अन्तरकृया कार्यक्रममा प्रचण्डले उक्त आरोप लगाएका हुन् ।
‘मसँग बदला लिने गरी ओलीजी अघि बढ्नुभयो । मलाई भेट्नेलाई बदला लिने काम भयो । नेतादेखि मलाई भेट्ने कर्मचारीमाथि समेत प्रहार भयो ।’ प्रचण्डले भने, ‘नेकपाको बैठकस्थलमा मेरो कुर्सी हटाउने कुरा टेक्निकल मात्रै होइन, कुर्सी हटाउने कुरा निषेधात्मक सोचको उपज थियो ।’
कार्यक्रममा अध्यक्ष प्रचण्डले चुनावी घोषणापत्र अनुसार पार्टी अघि नबढेको बताउँदै माक्र्सवाद–लेलिनवादको शिक्षालाई लिएर जाने कि बुर्जुवालाई काँधमा हालेर जाने अवस्थामा पार्टी पुगेको बताए ।
‘अहिले बुर्जुवाको बर्चस्व छ। कम्युनिस्ट पार्टीलाई कसरी अगाडि लाने ? नेता कार्यकर्तालाई अराजक भीड भन्नेहरु छन् । जनवादी केन्द्रीयता मान्ने कि व्यक्तिलाई केन्द्रमा राख्ने ? पार्टीको अधिनमा व्यक्ति हुने कि व्यक्तिको अधिनमा पार्टी हुने ?’ उनले प्रश्न गरे, ‘विवेकले सत्ता चलाउने कि सत्ताले विवेक चलाउने ? व्यक्तिगत निर्णयको जिम्मेवारी सामूहिक रूपमा लिनु पर्ने बाध्यता छ । एमसिसीमा सम्झौता गर्दा नवउदारवादी अर्थतन्त्र पालना गर्नुपर्ने भनिएको छ । यता कम्युनिष्टको सरकार नै नवउदारवादी पुँजीवादतिर जाँदैछ । हामीले चुनावी घोषणा पत्रमा सार्वजनिक निजी र सहकारीको सहकार्यमा अघि बढ्न सकिन्छ भन्यौँ । पुँजीवादको बीऊ रोपेर समाजवादको बीऊ फलाउनु असम्भव कुरा हो ।’
उनले अहिले नेकपामा नीति विधि केही होइन, नेता नै सर्वेसर्वा हो भन्नेहरुका कारण समस्या भएको उल्लेख गरे । दाहालले आफू पदको लोभमा नरहेको पनि बताए।
‘मैले यदि पार्टीको कार्यकारी अध्यक्ष पाए प्रधानमन्त्री हुने रूचि पनि छैन भनेको गत मंसिर ४ को सहमति पनि त्यही अनुसारको थियो । यो पदको लडाइँ थिएन । हाम्रा लागि पद प्राप्तिका लागि संघर्ष भन्ने कुरा गलत हो ।’ उनले भने, ‘पार्टीलाई नीति र विधि अनुसार चलाऊँ भन्दा पोलिसी सिफ्ट गरे मलाई घेराबन्दी गर्न खोजियो, अराजकतातिर लैजाने प्रक्रिया सुरू भयो । पोलिसि सिफ्ट गरेपछि सबै बिग्रियो, ठूलो संकटतिर पार्टी गयो ।’
उनले एकताका क्रममा जनताको बहुदलीय जनवाद र माओवादलाई आत्मसाथ गरेर परिवर्तन हुँदै जाने सहमति भएको पनि बताए । ‘माओवाद जिन्दावाद भन्यो भने पार्टी एकता त बिग्रिन्छ । अब जबज भन्दै कुद्दा पनि समस्या हुन्छ ।’, उनले भने, ‘समाजवाद उन्मुख देश भनेर घोषणा पत्रमा लेखेका थियौं । तर प्रधानमन्त्री स्वयमको पहलमा नेकपा एमाले दर्ताले पार्टी फुटको पक्षमा भन्ने देखाएको छ । हामी समाजवादतिर जाने भन्दा दलाल पूँजीबादको घेराबन्दीमा परिरहेका छौं ।’
उक्त कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको रवैया अब पनि सुधार नभए अर्को चुनावमा मुख देखाउन नसकिने अवस्था आउने बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















