२३ श्रावण २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय ‘सटडाउन’ गरिएको छ । आइतवारदेखि आगामी १५ दिनका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालय सटडाउन गरिएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
सेवाग्राहीको अत्यधिक भीड जम्मा हुन थालेपछि यस्तो निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।
‘तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले तीनवटै जिल्लाका सिडिओ कार्यालयका अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने निर्णय गरेका छौं ।’ दाहालले भने, ‘कोरोना तीव्र रुपमा फैलिँदै गएपछि भीड बढाउन नहुने नेपाल सरकारको आदेश कार्यान्वयन गर्न यस्तो निर्णय लिएका हौं । आगामी १५ दिनसम्म यी तीनै कार्यालय ‘सटडाउन’ गरेका छौं ।’
सरकारको निर्देशन अनुसार भीड जम्मा हुन नदिन तीनै जिल्लाका सबै कार्यालयलाई निर्देशन गरिएको बताउँदै दाहालले सेवाग्राहीको भीड हुने अन्य सरकारी तथा गैरसरकारी कार्यालयमा पनि यही नियम लागू गरिने बताए ।
प्रजिअ दाहालका अनुसार दिनदिनै कोरोना संक्रमित बढ्दै गइरहेकाल क्वारेन्टाइनको संख्या पनि बढाउन सम्बन्धित पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ । साथै चालु अवस्थाका क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गर्न पनि सिसिएमसीलाई अनुरोध गर्ने निर्णय भएको उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।