२३ श्रावण २०७७
नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ७ मा रहेको प्रमुख व्यापारिक केन्द्र भकुण्डेबेसीमा कृषि उपज संकलन केन्द्र सञ्चालनमा आएको छ । फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको सहयोगमा भकुण्डे कृषि उपज संकलन केन्द्र स्थापना भएको हो ।
आज (शुक्रबार) देखि औपचारिकरुपमा सञ्चालनमा आएको केन्द्रको एक समारोहबीच नगरप्रमुख टिपी शर्मा तिमल्सिना र उपप्रमुख रामदेवी तामाङले संयुक्तरुपमा उद्घाटन गरेका थिए । केन्द्र स्थापनाका लागि फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाबाट १५ लाख रुपैयाँ र नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको थियो ।

आयोजनाले संकलन केन्द्रले किसानलाई उन्नत जातका बिउबिजन वितरण, आवश्यक तालिम, थोपा सिञ्चाई, तरकारी नमुना प्रदर्शनीका लागि २४ लाख १९ हजार ७ सय २५ रुपैयाँ खर्च गरेको नमोबुद्ध नगरपालिका कृषि शाखा प्रमुख रेशम दाहालले जानकारी दिए ।
केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकाले खाद्य सूरक्षा, किसानको हकहितका लागि कार्यविधि नै बनाएर कार्यान्वयन गर्न लागेको बताए । नगरपालिकामा चाँडै नै खसी बोका संकलन केन्द्र स्थापना गर्ने र त्यसबाट नमोबुद्ध नगरपालिकासहित तेमाल गाउँपालिका, रोशी गाउँपालिकाका साथै छिमेकी जिल्ला सिन्धुलीका पशुपालक किसानसमेत लाभान्वित हुने तिमल्सिनाले बताए ।
यस्तै युवालाई स्वरोजगार बनाउन कृषि र पर्यटनमा आधारिक रोजगारमुलक कार्यक्रम तय गरिएको, कृषि पर्यटनको अवधारणा तयार पारिएको तिमल्सिनाले बताए ।
यसैबीच कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङले नगरपालिकामा कृषि, पर्यटन र व्यापारलाई एकसाथ अघि बढाउने योजना बनाएको जानकारी दिँद नगरभित्र उत्पादित मौलिक सामग्री प्रदर्शनी र बिक्रीका लागि कोसेली घरको अवधारणा ल्याइएको जानकारी दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले तरकारी बजारलाई अझै व्यवस्थित बनाउँदै लैजाने बताउँदै सबै वडाका किसानको नेटवर्क बनाउने, काठमाडौंका साथै तराईका बजारसम्म किसानको उत्पादन सहजै पुग्ने व्यवस्था मिलाउने बताए । तरकारी, मासु र अण्डामा नमोबुद्ध नगरपालिकालाई आत्मनिर्भर बनाउने योजना अघि सारिएको चापागाईंको भनाई छ ।

भकुण्डे कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष भरतप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका कृषि संयोजक एवं वडा नंवर ९ का वडाअध्यक्ष मेलवहादुर लामाले कृषिलाई व्यवसायिक बनाउँदै लैजान नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा नगरपालिकाका सबै वडामा प्रति वडा ६ वटाका दरले भुसा काट्ने मेसिन हस्तान्तरण गरिएको थियो । यस्तै फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजना र सिप्रेडको तर्फबाट प्राप्त तरकारी संकलन क्रेटसमेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नमोवुद्ध नगरपालिका युवा परिषदका उपाध्यक्ष अशोक खनाल, नगरपालिकाका वडा अध्यक्षहरु, काभ्रे कृषि बजार व्यवस्थापन समिति अध्यक्ष पुर्णचन्द्र सिग्देल, नगरपालिका पशु विकास शाखाका प्रमुख चिरन्जिवी शर्मा, कृषक समूह महासंघ प्रदेश सदस्य कमला खनाल, महासंघका राममणि हुमागाईं लगायतको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।