२४ श्रावण २०७७
काठमाडौं । नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालयका एक कर्मचारी १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँ बराबरको चेक सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सो कार्यालयका प्रमुख उप–प्रबन्धक रितेश गुप्ता रहेका छन् ।
उनलाई सिन्धुलीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाहरुको भुक्तानी दिन भनी पहिले नै चेक काटी उक्त चेकहरु लिएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले गुप्तालाई जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं. ९ बाट उक्त कार्यालयका चेकहरु तथा सोसँग सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिएको हो । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।