दिलिप शर्मा
समृद्ध समाज निर्माणको लागि अहं भूमिका निर्बाह गर्ने निकाय मध्यको एक हो सहकारी । असल समाज निर्माणका लागि समुदायमा आधारित सर्व पक्षिय रुपमा दीर्घकालिन रुपमा हरक्षण यसले समुदायकै भलाइका लागि काम गरिरहेको हुन्छ । सहकारीका सात सिद्धान्तमा आधारित भई संस्था सञ्चालन गरिरहँदा हामीले के कस्ता उपलब्धिहरु हासिल गर्न सक्यौं भन्ने विश्लेषण गर्ने हो भनेपनि हामीसँग केहि सिमित बिषय भन्दा अरु केहि देखिने काम गरेको पाउँदैनौं । तुलनात्मक रुपमा बैंकिङ क्षेत्रले गर्ने जस्तो कामहरु भन्दा अन्य ठूलो कामहरु हामीले गर्न सकेका छैनौं । बैंक तथा बित्तिय क्षेत्र पुग्न नसकेको स्थानमा हामीले हाम्रा क्रियाकलापहरु भने निकै सघन रुपमा अगाडि बढाइरहेको अवस्था भने पक्कै हो ।
सहज रुपमा बित्तिय कारोबार सञ्चालन गर्दै जाँदा समुदाय वा शेयर सदस्यहरुले आफ्ना दैनिक समस्या टारेका होलान तर समृद्धिका हिसाबले हामीले के योगदान गर्न सक्यौं त ? भन्ने तथ्यांक हामीले राख्न सकेका छैनौ । अब हामी माथि प्रश्न आउन थाल्नेछ त्यसैले अब सहकारी संस्थाहरुले दीर्घकालिन रुपमा प्रभाव पार्ने खालका योजना सहकारी संस्थाहरुले लागु गर्नुपर्ने बेला आएको छ ।
जीविकोपार्जन, आय आर्जन तथा रोजगारीका लागि हाम्रा योजनाहरु के छन ? शेयर सदस्यहरुमा हिजो कस्तो अवस्था थियो र आज के कस्तो अवस्थामा छ ? वा परिवर्तनहरु के भए ? भन्ने चिन्ता अब हामीलाई हुनुपर्दछ । हाम्रा सहकारी संस्थामा सदस्य बन्दै गर्दा शेयर सदस्यहरुलाई हाम्रा योजनाका बारेमा के र कस्ता योजना हामी पस्कन सक्यौं ? के छन त हाम्रो दीर्घकालिन योजना ? यसका बिषयमा हामी ५ बर्षे रणनीतिक योजनाहरु किन तयार गर्न कन्जुस्याई गर्ने ? शेयर सदस्यहरुले गर्दै आएका अनुभव तथा जानकारी लिएका बिषयहरु के के छन ? र के कामहरु सजिलै गर्न/गराउनका लागि हाम्रा सानो सहयोग प्राप्त गरेपछि उनीहरुलाई उत्प्रेरणा मिल्दछ र जुन कामहरु गर्न सदस्यहरु सक्दछन वा सक्षम छन भने उक्त कार्य गर्न हामी किन सहयागे नगर्ने भन्ने सोच हामीमा आउनु जरुरी छ । यसका लागि संस्थामा आबद्ध शेयर सदस्यहरुका लागि पारिवारिक तथ्यांक सहित व्यवस्थित गर्नु उपयूक्त हुन्छ । संस्थामा आबद्ध सदस्यहरुका लागि अवस्था (आर्थिक) विश्लेषण वा सम्पन्नता स्तरीकरणका उपायहरुका बारेमा सिंगो नेतृत्वहरुले सोच्ने बेला आएको छ ।
आजको परिवेश तथा सिंगो देश नै महामारीको त्रास र संन्त्रासबाट गुज्रिरहेको यस अवस्थामा र बिदेशबाट थुप्रै नेपालीहरु स्वदेश आइरहेको सन्दर्भमा देशमा नै रोजगारी सिर्जना गरी काम दिनका लागि हाम्रा पनि केहि कर्तब्यहरु हुन्छन । देशभर ३४५१२ वटा सहकारी संस्थाहरु रहेका सन्दर्भमा एक सहकारी संस्थाले एक जना मात्र रोजगारी दिन सकेमा पनि ३४ हजार मानिसले रोजगारी पाउने कुरामा कुनै शंका नै छैन । रोजगारी भन्ने वित्तिकै जागिर भन्ने कुरा पनि हामीले बुझ्नु हुदैन ।
अब सहकारी अभियानमा लाग्ने जो कोहि ब्यक्तिहरु वा अभियानकर्मीहरुले पनि यसमा आफ्ना संस्थामा ठोस योजनाका खाका ल्याउने कुरामा कुनै पनि ढिलाई गर्नु पनि हुदैन । यसलाई अभियानका रुपमा सबैले लिनु पर्दछ । यसका लागि कृषि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी विभाग, सहकारी विकास बोर्ड, केन्द्रिय संघ जिल्ला सहकारी संघहरु तथा जिल्लामा रहेका ३०० भन्दा बढी बिषयगत संघहरुले अभियान पनि चलाउनु पर्दछ । किनभने यो समृद्धिसँग जोडिएको बिषय हो । यसका लागि सम्वन्धित निकायहरुले यसका लागि को र कसलाई कसरी कार्यहरु अगाडि बढाउने भन्ने बिषयहरुका बारेमा जानकारी सहित क्षमता विकासका योजनाहरु अगाडि बढाउनु पर्दछ र यो योजना समुदायस्तरमा भएका सहकारी संस्थाहरुमा लैजानु पर्दछ ।
समुदायमा रहेका वा सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरुसँग कुनै न कुनै प्रकारका क्षमताहरु रहेका हुन्छन । उद्योग, कलकारखाना, आय आर्जन, रोजगारी, व्यवसाय, सीप तथा क्षमताहरु हुन्छन यस्ता क्षमता तथा दक्षताहरुलाइ पहिचान गर्नु हामी सहकारीकर्मीहरुको भूमिका पनि हो । हाम्रा सदस्यहरु कुन कुन क्षेत्रमा के कस्ता कामहरु गर्न चाहन्छन ? उनीहरुलाई के कस्तो प्रकारका सहयोग आवश्यकताहरु छन ? भन्ने कुराको निक्र्यौल पश्चात नै हामी योजना बनाउन सक्दछौं । यसका लागि शेयर सदस्यहरुको पारिवारिक विवरणहरु संकलन गर्ने कार्य पहिलो काम सहकारी संस्थाहरुले गर्नुपर्दछ ।
उसको अनुभवको क्षेत्र, अध्ययन, क्षमता तथा आर्थिक अवस्थाका बारेमा हामीले सर्वेक्षण पश्चात नै टुंगोमा पुग्न सकिने भएकाले हामीले यस्ता खालका बियहरुमा प्रश्नावलीहरु निर्माण तथा तयारी गरी संकलन पश्चात विश्लेषण गर्नुपर्दछ । यसरी विश्लेषणमा आएका तथ्यांकहरुलाई विभिन्न ढंगले बर्गिकरण गरी पहिला आवश्यकताका आधारमा उनीहरुको प्रथमिकता निर्धारण गर्नुपर्दछ । यसरी विशलेषण तथा निर्धारण गर्दा पहिलो प्रथमिकतामा परेका जो आर्थिक रुपमा, लैंगिंक रुपमा, जातीगत रुपमा पछाडी परेका समुदायहरु छन उनीहरुका लागि प्राथमिकता आधारमा पहिलो रुपमा काम गर्ने वातावरण बनाइदिदा सहकारीले राम्रो काम गरेको बुझेन सकिन्छ ।
समुदायस्तरमा स्थापित सहकारी संस्थाहरुको पहिलो काम भनेको कृषि, पशुपालन तथा अन्य व्यवसाय र रोजगारमूलक कार्यको प्राथमिकता नै हो । किनभने समुदायस्तरमा धेरै मानिसहरु कृषिसँग आधारित भइ आफ्नो दैनिक गुजारा गरिरहेका हुन्छन । यसका लागि कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिकिकरणका लागि पहल गरी व्यवस्थित र गुणस्तरीय रुपमा उत्पालनमा जोड दिदा शेयर सदस्यहरुको मात्र नभै संस्थाको कद पनि माथि उठ्ने भएकाले पनि यसमा निरन्तरता दिनुपर्दछ । स्थानीयस्तरमा पाइने रोजगारीका लागि शेयर सदस्य तथा उनीहरुका एकाघरका सदस्यहरुले प्राप्त गर्ने रोजगारीका लागि पनि सहकारी संस्थाले प्राथमिकतामा राख्न सक्दछ । यसका लागि निश्चित रुपमा धेरै सहकारी संस्थाका ब्यक्तिहरुसँग सहकार्य गदै एकैपटक एकै स्थानमा तालिमहरुको आयोजना गर्न पनि सकिन्छ । धेरै जनमा सहभागितामूलक रुपमा कामहरु सम्पन्न गर्दा लागत सहभागिताका हिसावले पनि थोरै लगानीमा प्रतिफलहरु धेरै प्राप्त गर्न सकिने हुनाले यस्ता बिषयहरुमा समेत संस्थाले ध्यान दिनु उपयूक्त हुन्छ ।
सहकारी संस्थाहरुले अबको आर्थिक बर्षमा यस्ता खालका योजनाहरु ल्याउन अब ढिला गर्नु हुदैन । मूलुकको अर्थतन्त्र थिलथिलो हुदै गइरहेको अवस्थामा समुदाय र शेयर सदस्यहरुको हितमा काम गर्नु सहकारी संस्थाहरुको दायित्व समेत भएकाले पनि आर्थिक समृद्धि र देश निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गर्दै आइरहेको सहकारी क्षेत्रले आफ्ना र शेयर सदस्यहरुको समृद्धका लागि ठोस योजना सहित काम अगाडि बढाउन सकेमा सहकारीले निक फड्को मार्न सक्नेछ । अनि हामी गौरवका साथ भन्न सक्नेछौं हाम्रो समृद्धि सहकारीबाट नै सम्भव छ र सहकारीलाई हेर्ने दृष्किोण सबैले परिवर्तन गर्नुपर्दछ ।
त्यसैले एक सहकारी एक रोजगारीको अभियानमा आजैबाट लाग्नका लागि पहल सुरु गरौं र अवका योजनामा यो आर्थिक बर्षमा एक सहकारी एक रोजगारी ल्याउने अभियान सुरु गरौं । यसका लागि सहकारी संस्था÷संघहरुलाई उत्प्रेरणा जगाउनका लागि सहकारीका माथिल्लो निकाय वा अनुगमन र नियमन गर्ने कुनै पनि निकाय जस्तै स्थानीय तह, बिषयगत संघ, जिल्ला संघ, केन्द्रिय संघ, राष्ट्रिय सहकारी महासंघ, विकास बोर्ड, विभाग तथा मन्त्रालयको तर्फबाट रोजगारी सिर्जना गर्न उत्कृष्ट भूमिका निर्बाह गर्ने सहकारी संघ÷संस्थाहरुलाई पुरस्कृत गर्ने अभियान समेत चलाएर कार्यहरु अगाडि बढाउन सकेमा हाम्रा शेयर सदस्य तथा आश्रित परिवार समेत सुखि र समृद्ध हुने कुरामा ढुक्क हुन सकिन्छ । सबैले आ आफ्नो तबरबाट यो अभियान आजै देखि सुरु गरौं ।
जय सहकारी
(लेखकः जिल्ला सहकारी संघ लिमिटेड काभ्रेका सचिव हुनुहुन्छ)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















