२५ श्रावण २०७७
हेटौंडा । डियुटीमा बसेका प्रहरी कर्मचारीलाई बिभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई घुस वापतको रकम सहित पक्राउ गरेको छ । साथै कानुनी बमोजिम कारवाहीको दायरामा ल्याउने २ जना प्रहरी कर्मचारीहरुलाई आज बागमती प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको छ ।
आर्थिक प्रलोभनमा नपरी आफ्नो डियुटीमा ईमान्दारीता प्रदर्शन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरीएको हो । पुरस्कृत हुनेमा जिप्रका सिन्धुली र चितवनमा कार्यरत २ जना प्रहरी हवल्दारलाई बागमती प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो ।
संक्रमणको जोखिमलाई मध्यनजर गरी नेपाल सरकारबाट भएका विभिन्न निर्णयहरु कार्यान्वयनको लागि नियमित डियुटीमा खटिएका प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभन देखाई सरकारको निर्देशन उलंघन गर्न खोज्नेहरुलाई घुस वापतको रकम सहित पक्राउ गरी कानुनि कार्वाहीको दायरामा समेत ल्याईएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिएका छन् ।
बिशेष गरी सवारी चालकहरुले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने, सवारी पासको दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने, सवारी दुर्घटना गराई कानुनी कार्वाहीबाट उम्कने र नदिजन्य सामाग्री अबैधरुपमा ओसारपसार गर्ने प्रयोजनका लागि डियुटीमा रहेका प्रहरी कर्मचारीहरुलाई ५ सय रुपैमया देखी ५ हजार रुपैंयाँसम्म रकम दिएर प्रलोभनमा पार्न खोजिए पछि उनीहरुलाई रकम सहित पक्राउ गरीएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत कार्यालयहरुलाई सोही अनुरुपको कार्य सम्पादन गर्न निर्देशन भएसंगै प्रहरी कर्मचारीहरुबाट सम्पादन हुने कार्यमा पारदर्शीता र इमान्दारीता देखिन थालेको छ ।
प्रदेश प्रहरी कार्यालय र मातहत कार्यालय समेतले गरी आज सम्म २३ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरीएको छ आर्थिक प्रलोभनमा परी आफ्नो जिम्मेवारी पुरा नगर्ने एक जना प्रहरी निरीक्षक सहित चार जान प्रहरी कर्मचारीलाई निलम्बन गरीसकिएको छ ।
बिभिन्न पक्राउ परेका व्यक्तिहरुलाई कसुर अनुसार सावर्जनिक हित, स्वास्थ्य,सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्धा चलाईएको, संक्रमण रोग ऐन २०२० अनुसार आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको र कतिपयलाई ट्राफिक नियम उंघन गरेको कसुरमा जरिवाना गराईएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गिरीले बताएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















