२७ श्रावण २०७७
धुलिखेल । जिल्ला प्रहरी कार्यालय, काभ्रेले नियमित प्रहरी काम कारवाही र सेवा प्रवाहमा कुनै समस्या नरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेमा कार्यरत प्रहरी कर्मचारीमा कोरोना भाइरस देखिए पनि उनी क्वारेन्टाइनमा रहेको र अरुसँग सम्पर्कमा नरहेकोले सवेवा प्रवाहमा कुनै समस्या नरहेको जनाएको हो ।
सोमबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक धुलिखेलमा कार्यरत एकजना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाका अनुसार संक्रमित व्यक्ति रौतहट जिल्ला स्थित घरमा विदामा गएका विदा भुक्तान गरी गत श्रावण १९ गते यस कार्यालयमा हाजिर हुन आउने क्रममा निजलाई यस कार्यालयबाट सम्पर्क गरी सिधै क्वारेन्टाइनमा लगिएको थियो । संक्रमित प्रहरी कर्मचारीलाई धुलिखेल नगरपालिका वडा नं. ७ स्थित संजिवनी मा.वि. मा रहेको क्वारेन्टीनमा राखिएको डिएसपी थापाले बताए ।
उनका अनुसार सो प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गर्दा श्रावण २६ गते निजको कोरोना भाईरस पोजेटिभ देखिएको थियो ।
‘निजलाई थप उपचारको लागि धुलिखेल अस्पतालको आईसोलेसनमा राखिएको छ ।’ थापाले भने, ‘निज यस कार्यालयमा कार्यरत कुनै पनि प्रहरी कर्मचारीहरुको सम्पर्कमा नपुगेको हुँदा यस कार्यालयबाट हुने नियमित प्रहरी काम कारवाही र सेवा प्रवाहमा कुनै समस्या नरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।