२७ श्रावण २०७७
धुलिखेल । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह)का काभ्रे जिल्ला कमिटि सदस्यले पार्टी परित्याग गरेका छन् । परित्याग गर्नेमा रोशी गाउँपालिका वडा नं. ५ निवासी प्रशान्तकुमार मोक्तान रहेका छन् ।
उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लब समूह परित्याग गरि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको बताएका छन् । यस अघि उनलाई प्रहरीले घरबाटै गिरफ्तार गरिएको थियो । हिरासत मुक्त हुनेवित्तिकै उनले उक्त प्रेस विज्ञप्ति जारी गरेका थिए ।
यस अघि आफू विप्लब समूहको जिल्ला सदस्य भएको तर पछिल्लो चरण विप्लबको गतिविधि प्रति असहमति रहेको बताए ।
‘म नेपाल सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह) मा काभ्रे जिल्ला सदस्य भइ विगत २ वर्ष अघिसम्म काम गर्दै आएकोमा विप्लब समूहको गतिविधि प्रति चित्त नबुझेर स्वतन्त्र रुपमा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ६ मा व्यवसाय गर्दै आएको सबैमा अवगत गराउन चाहन्छु ।’ विज्ञप्तिमा भनिएको छ, ‘म विप्लब समूहको कुनै पनि गतिविधिमा संलग्न पनि छैन र आगामी दिनमा रहने पनि छैन । म आजकै मिति देखि औपचारिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पूर्ण प्रतिबद्ध रही अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछु ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।