२८ श्रावण २०७७
हेटौंडा । सेवाग्राहीसँग रकम लिंदै गरेको अभियोगमा वागमती प्रदेश प्रहरी कार्यालयले ६ जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली अन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी र काभ्रेमा कार्यरत प्रहरी कर्मचारी १ जनालाई निलम्बन गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत इन्स्पेक्टर रोशन थापाका अनुसार उनीहरुलाइ सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा नियन्त्रणमा लिई निलम्बन गरिएको थियो ।
बागती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेका अवस्थामा उनीहरूलाई यही साउन २१ गते नियन्त्रणमा लिए अधिकृत थापालले जानकारी दिए ।
उनीहरूलाई सवारीचालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई थप छानबिन गर्न निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिए । उनका अनुसार निलम्बन पर्नेमा दुई प्रहरी हवल्दार र चार प्रहरी जवान छन् ।
निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र सो अन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की तथा प्रहरी जवान कुमारबाबु सिंह, धीरेन्द्र साह र रामकुमार थापा छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको इलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नवीनबहादुर थापालाई निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिए ।
निलम्बित प्रहरी कर्मचारीका सम्बन्धमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंँडाले प्रहरी नायब उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ ।
आफ्नो ड्युटीमा इमानदारिता प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारबाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















