२८ श्रावण २०७७
बनेपा । काभ्रेको तीन नगरपालिका जोड्ने साझेदारीको दोस्रो परियोजना अन्तर्गत पुण्यमाता करिडोर निर्माण कार्यको शिल्यान्यास गरिएको छ । बनेपा, धुलिखेल र पनौती नगरपालिका जोड्ने उक्त परियोजनाको पूर्व मन्त्री गोकुलबाँस्कोटाले आज एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।
शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री बाँस्कोटाले जिल्लाको विकास निर्माणको गति अघि बढिरहेकाले केहि वर्षमै ठुला ठुला आयोजनाहरु सम्पन्न हुने बताए । ‘मदन भण्डारी विश्वविद्यालय, प्रतिरक्षा विश्वविद्यालय, सुरक्षण मुद्रण प्रेस, एयरपोर्ट, खानेपानी लगायतका विकास आयोजनाले जिल्लाको समृद्धिको यात्रा शुरु भएको छ ।’ बाँस्कोटाले भने ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ –बमध्वज)ले काभ्रे जिल्लाको पूनर्संरचना भएको आभास विकास योजनाहरुले गराएको बताए । सांसद बमध्वजले बनेपा, धुलिखेल र पनौती नगरपालिका गाभेर उप–महानगरपालिका बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा तीनै वटा नगरपालिकाका प्रमुख तथा अन्य जनप्रतिनिधिहरुको सहभागीता रहेका थिए ।
परियोजना माघ १४ भित्र सम्पन्न हुने
परियोजनाका लागि १४ करोड ४७ लाख ५५ हजार इष्टमेट गरिएकोमा ६ करोड २७ लाख ९५ हजार ९ सय ६ रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । २०७७ माघ १४ भित्र ६ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरिएको आयोजनामा पुण्यमाता करिडोरका लागि पहिलो चरणमा करिडोरको क्षेत्र पहिचान गरिनेछ । डिमार्केसन वाल, फिलिङ्ग वक्र्स सहित २३ किलोमिटर क्षेत्रफलको कार्य हुनेछ ।
पहिलो खण्ड बनेपा नगरपालिका नाला शेरा करुणामाई देखि सरस्वती दोभान हुँदै बनेपा पुलबजार पुलसम्म सडक स्तरोन्नती कार्य हुनेछ । जसका लागि स्टमेट गरिएको ४ करोड ८२ लाख रुपैया मध्ये २ करोड ८ लाख रुपैयाँमा सम्झौता भएको छ । दोश्रो खण्ड पुलबजार बनेपा देखि खड्पुपुलसम्म सडक स्तरोन्नती हुनेछ ।
जसका लागि ४ करोड ८२ लाख रुपैया इस्टमेट गरिएकोमा २ करोड १ लाख रुपैयामा सम्झौता भएको छ । त्यस्तै तेश्रो खण्ड खड्पु पुलदेखि पनौती त्रिवेणीघाटसम्म पुग्ने सडक स्तरोन्नती कार्यका लागि ४ करोड ८२ लाख इस्टमेट गरिएकोमा २ करोड १८ लाख रुपैयामा सम्झौता भएको छ । तीनवटा खण्डको अलग अलग बोलपत्र आब्हान गरिएको भए पनि एउटै कम्पनीसँग सम्झौता भएको आयोजनाका प्रमुख मचाकाजी महर्जनले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।