२९ श्रावण २०७७
धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा कोरोना भाइरस संक्रमित बढेपछि नगरले सबै सेवा बन्द गरेको छ । धुलिखेल नगरपालकाका प्रमुख अशोक ब्याञ्जुले एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरेको बताएका हुन् ।
काभ्रे जिल्ला धुलिखेल नगरपालिका क्षेत्रभित्र तथा जिल्ला भर कोरोना भाइरसको संक्रमितहरुको संख्या बृद्धि भई त्यसबाट उत्पन्न जोखिमलाई मध्यनजर गर्दै यसरी सेवा बन्द गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘मिति २०७७ साल श्रावण ३० गतेदेखि लागु हुने गरि धुलिखेल नगरपालिकाबाट प्रवाह हुने अत्याबश्यक सेवा बाहेक अन्य सबै सेवाहरु भदौ ५ गतेसम्म बन्द गरिएको छ ।’ नगर प्रमुख ब्याञ्जुद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ, ‘यस अवधिमा नगरपालिका क्षेत्रभित्र कुनैपनि बैठक, गोष्ठि, भेला लगायतका कार्यमा रोक लगाईएको छ । यसका साथै धार्मिक स्थलमा हुने दैनिक नित्य पूजा वाहेक अन्य कुनैपनि गतिविधि गर्न रोक लगाइएको छ । घरमा चाडपर्व मनाउँदा समेत भौतिक दूरी कायम राखि स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न समेत नगरपालिका हार्दिक अनुरोध गर्दछ ।’

श्रावण २९ गते धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी तथा नजिकको होटेल व्यवसायीलाई समेत कोरोना पोजिटिभ देखिएकोले अस्पताल वरिपरि २ सय मिटर क्षेत्रलाई कन्ट्याक ट्रेसिङको अवधिभर उक्त क्षेत्र सिल गरिएको विज्ञप्तिमा जनाएको छ । ‘यस अवधिमा होटेल व्यवसाय, सबै पसल समेत बन्द गर्न र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत नगरपालिका हार्दिक अनुरोध गर्दछ ।’ विज्ञप्तिमा लेखिएको छ ।

Comments

comments