३२ श्रावण २०७७
नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले आज (आइतबार)देखि नगरभित्र अत्यावश्यक बाहेक सबै पसल व्यवसाय र यातायात वन्द गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको शनिबार बसेको बैठकले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि साउन ३२ गते आइतबारदेखि भदौ ७ गतेसम्म अत्यावश्यक बाहेकका सबै पसल व्यवसाय वन्द गर्ने निर्णय गरेको हो ।
बैठकले नगरभित्र अत्यावश्यक, पास भएका र सरकारीबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय पनि गरेको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा अन्य सरोकारवाला निकायका प्रतिनिधिसमेतको उपस्थितिमा बसेको बैठकले विपद व्यवस्थापन समितिको शुक्रबार बसेको निर्णय अनुसार सर्वसाधारण नागरिकलाई अत्यावश्यक कामबाहेक घरभित्रै बस्न, घरबाहिर निस्कनपरेमा मास्क लगाएरमात्रै निस्कनसमेत आग्रह गरेको छ ।
यस्तै नगरपालिका र अन्तर्गतका कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य सेवालाई आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख तिमल्सिनाले बताउनुभयो ।
बैठकले स्वास्थ्य मापदण्ड पालना नगरी आवतजावत गर्नेलाई संक्रमण रोग नियन्त्रण ऐन अनुसार कार्बाही गर्ने निर्णयसमेत गरेको छ । मानिसको भिडभाड हुने कुनै पनि बैठक, सभा, सम्मेलन, गोष्ठी सेमिनार जस्ता क्रियाकलाप गर्न रोकसमेत लगाउने बैठकले निर्णय गरेको छ । नगर कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयनका लागि नियमित अनुगमन गर्ने र निर्णय उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कार्बाही हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईंले बताए ।

 

Comments

comments