३२ श्रावण २०७७
नमोबुद्ध । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि नमिबुद्ध नगरपालिकाले आवश्यक तयारी र सरोकारवालासँगको छलफल र समन्वयलाई तीब्रता दिएको छ । सोही क्रममा आज नगरप्रमुख टिपी शर्मा तिमल्सिना र स्वास्थ्यकर्मी सहित सरोकारवालाहरूको बैठकले नगरभित्रका सबै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
बैठकले नगरपालिकाको आइसोलेसन र क्वारेन्टिनलाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ । यस्तै नमोबुद्ध नगरपालिकामा रहेका बैंकहरू पनि अबदेखि आलोपालो प्रणालीमा सञ्चालन हुने भएका छन् ।
कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि आजै नगरपालिकामा नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा बसेको बैंकका प्रतिनिधि सहितको बैठकले आलोपालो प्रणालीमा बैंकिङ सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
जस अनुसार अब नमोबुद्ध नगरपालिकाको व्यापारिक केन्द्र भकुन्डेमा रहेका राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक र सिन्धु विकास बैंकका शाखामा आइतबार, मंगलबार र बिहीबार बैंकिङ कारोबार हुनेछ । यस्तै लक्ष्मी बैंक र लुम्बिनी विकास बैंकका शाखामा सोमबार, बुधबार र शुक्रबार मात्रै कारोबार सञ्चालन हुनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।