२ भदौ २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकाकामा कोरोना संक्रमण संख्या दिनानुदिन बढीरहेको छ । विशेष गरि विभिन्न ठाउँबाट उपत्यकामा निर्वाध रुपमा प्रवेश गरेपछि यो अवस्था आएको हो ।
उपत्यकाको तीन जिल्लामा कोरोना संक्रमण २ हजारभन्दा बढीमा देखिएको छ । देशव्यापीरूपमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका हुन् ।
सोमबारसम्म उपत्यकामा २ हजार १ सय ३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म काठमाडौँ जिल्लामा एक हजार ७०५, भक्तपुरमा १४७ र ललितपुरमा २८२ जना रहेका छन् ।
यस्तै उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ । मृतक नौ जना काठमाडौँ र एक जना ललितपुरका रहेका छन् ।
यस्तै २४१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । काठमाडौँ जिल्लामा १६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका छन् ।
सोमबार मात्र उपत्यकामा १६८ जना सङ्क्रमित फेला परेका छन् । काठमाडौँमा १३९ जना, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् ।
उपत्यकामा अहिलेसम्म सक्रिय सङ्क्रमित एक हजार ८८३ जना रहेका छन् । काठमाडौँ जिल्लामा एक हजार ५३४, भक्तपुरमा ११२ र ललितपुरमा २३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा २७ हजार २४१ सङ्क्रमित, १७ हजार ४९५ निको भएका, १०७ जना सङ्क्रमणले गर्दा मृत्यु भएका र नौ हजार ६३९ सक्रिय सङ्क्रमित रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।