३ भदौ २०७७
काठमाडौं । एउटा म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्य राखेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङ सहित ९ जनालाई आज पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले सोमबारदेखि अहिलेसम्म विभिन्न ठाउँबाट ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उक्त भिडियोमा अभिनय गर्ने, गाउने, भिडियो खिच्नेलगायत छन् । पक्राउ परेका सबै जनालाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाउन लागिएको छ ।
एसएसपी थापाका अनुसार पक्राउ परेकाहरु विरुद्ध साइबर अपराध, मुलुकी अपराध संहिता २०७४ ले राष्ट्रिय झण्डा जलाउन नपाइने विरुद्धको कसुर र राजद्रोहको कसुर गरी तीन वटा कानुन आकर्षित हुने छ ।
उक्त म्युजिक भिडियो मकवानपुरको बागमती गाउँपालिकामा सुटिङ गरेको पाइएको प्रहरीले जनाएको छ । भिडियोमा राष्ट्रिय झण्डा जलाएकोदेखि जातिय द्वेषा फैलाउने किसिमका दृश्य छन् । भदौ १ गते मंगोल होप अफिसय युट्युब च्यानलबाट नेपाली राष्ट्रिय झण्डा जलाएको भिडियो अपलोड गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।