३ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. ३ निवासी १२ वर्षिय कान्छालाल योञ्जन उपचार गर्न पैसा नभएपछि अस्पतालमा छटपटाइरहेका छन् । डाक्टरका अनुसार योञ्जनको तुरुन्तै अप्रेशन गर्नुपर्ने थियो । तर आर्थिक अभावका कारण उनको अप्रेशन हुन सकेको छैन ।
गत श्रावण २७ गते सदाझैं बाख्रा चराउन जंगल हिंडेका थिए । सोही क्रममा उनी अचानक भिरबाट लडेपछि गम्भिर घाइते भयो । टाउको, खुट्टा र हातमा गम्भिर चोट पुगेको छ । प्राथमिक उपचारको व्यवस्था समेत नभएको जिल्लाकै कर्णाली भनेर चिनिने महाभारत गाउँपालिकाबाट उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
एम्बुलेन्सको अभावमा स्थानीय बान्सिन्दमार्फत उपचारका लागि धुलिखेल सामुदायिक अस्पतालमा ल्याएको थियो । ‘धुलिखेल अस्पतालमा कोरोना भाइरस संक्रमितहरुको उपचार भइरहेको र सबै कर्मचारीहरु क्वारेन्टाइनमा बसेकोले उपचार हुन सकेन ।’ स्थानीय तामाङले भने, ‘त्यसपछि काठमाडौँको वीर हस्पिटलमा रिफर गरिएको थियो ,त्यहाँ आइसियु खाली नभए पछि हाल कलंकीमा रहेको नेपाल नेशनल हस्पिटलमा रहेको छ ।’
आफ्नो छोरोको उपचारमा निक्कै समस्या भएपछि घाइते बालकका बुबा ज्ञानबहादुर योञ्जन निक्कै चिन्तित देखिन्छ । आफूसँग भएको पैसा र सापटी गरेको पैसाले टाउको र खुट्टाको अप्रेशन गरेपनि फेरि अप्रेशन गर्नुपर्ने भएपछि उनले सहयोगको याचना समेत गरेका छन् ।
‘मसँग भएको पैसाले नपुगेपछि मैले इष्टमित्रहरुसँग सापटी लिएँ, टाउको र खुट्टाको अप्रेशन गरेको थियो । त्यो भएन रे फेरि अप्रेशन गर्नुपर्ने भयो भन्छन् डाक्टर । अब चाहिं मसँग पैसा छैन । कसरी उपचार गर्ने होला ? म सबैसँग मेरो छोराको उपचारको लागि सहयोग गर्न अनुरोध गर्दछु ।
घाइते बालकका बुबा ज्ञानबहादुरका अनुसार हाल सम्म २ लाख भन्दा बढी खर्च भइसकेको छ । ‘डाक्टरले अब ५ लाख जति खर्च लाग्छ भनेको छ । अब कसरी जुटाउने ?’ ज्ञानबहादुरले रुँदै भने, ‘मेरो नाबालक छोराको उपचार गर्न नसकिने भयो ।’
सामान्य गरिब किसान परिवारमा भएकोले उनीसँग अब अप्रेशन गर्ने त परै जाओस, सामान्य औषधि खरिद गर्ने पैसा समेतको अभाव रहेको ज्ञानबहादुर बताउँछन् ।
आर्थिक अभाव सबैमा आर्थिक सहयोगको अपिल गरेको छ । सहयोगको लागि घाइते बालकको दाजु मोबाइल नम्बर ९८६६४४३२०४ र ९८८००३०७०२ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















