३ भदौ २०७७ काठमाडौं । अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोलामा अचानक आएको बाढीले ठूलो क्षति पुर्याएको छ।गए राति आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव फेला परेको छ ।
रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए।
उक्त खोजीमा अछामका प्रजिअ उपाध्याय, भवानी बक्सका गणपति लोचन कार्की तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रसिंह थापासहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा ६ तथा मङ्गलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा ६ जना गरी जम्मा १२ जनाको शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । गए राति ठूलो वर्षात्का कारण उक्त खोलामा बाढी आएका कारण आआफ्ना पसलमा सुतेका स्थानीयवासीलाई बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















