५ भदौ २०७७
हेटौंडा । अस्थायी ट्राफिक प्रहरी पोष्ट सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार राम प्रसाद थपलिया श्रावण महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी भएका छन । बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो प्रत्यक्ष मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य गर्ने एक जना प्रहरीलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्ने कार्यको थालनी गरेसँगै थापलियालाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका हो ।
प्रहरीलाई आर्थिक प्रलोभनमा पारी गलत क्रियाकलाप गर्न खोज्ने सवारी चालकहरुलाई कानुनी कार्बाहीको दायरामा ल्याउन प्रभावकारी भुमिका निर्वाह गर्दै आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गरेकोले निजबाट सम्पादित कार्यको उच्च मुल्यांकन गर्दै प्रहरी हवल्दार थपलियालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरीएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।
सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणाको लागि बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका दश वटा जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र, गण, दंगा र प्रदेश ट्राफिक गरी १५ वटा प्रहरी कार्यालयबाट प्राप्त प्रहरी कर्मचारीको कार्य विवरण मघ्ये प्रहरी हवल्दार थपलियाको कार्यविवरण उत्कृष्ट पाईएकाले निजलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरीएको छ ।
प्रहरी कर्मचारीहरुको मनोबल, साहस र हौसलालाई अभिबृद्धि गर्न र प्रत्येक प्रहरी कर्मचारीहरुलाई रचनात्मक कार्य तर्फ स्वस्उत्प्रेरीत गरी उत्कृष्ट कार्य सम्पादनको लागि स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अभिप्रायले बागमति प्रदेश प्रहरी कार्यालयले गत असार महिनामा उत्कृष्ट प्रहरी छनौट कार्यविधी २०७७ तयार गरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई हरेक महिना पुरस्कृत गर्ने कार्यको थालनी गरेको प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले बताए ।
यस कार्यबिधी अनुसार बागमती प्रदेश प्रहरी कार्यालयले ‘महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी’ र मातहतका कार्यालयले हरेक महिना ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गर्ने छन । प्रदेश प्रहरी कार्यालयमा महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरीको लागि सबै मातहत कार्यालयले नामावली सिफारीस गर्ने छन भने प्रदेश कार्यालयबाट छनौट भएका बाहेकका प्रहरी कर्मचारी आ–आफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी हुने व्यवस्था कार्यविधीमा रहेको छ । कार्यबिधीकै व्यवस्था अनुसार श्रावण महिनामा मात्रै १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















