५ भदौ २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले अनिश्चितकालीन ‘लकडाउन’ को घोषणा गरको छ । कोरोना भाइरस संक्रमण काभ्रेमा पनि बढ्दै गएपछि विहिबार बसेको कार्यपालिकाको बैठकले अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय सहित ‘लकडाउन’ को घोषणा गरेको हो ।
विहिबार गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक सूचना जारी गर्दै कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु स्थगित गरिएको जनाएका छन् । साथै पसल व्यवसायहरुको समेत खुल्ने समय निर्धाण गरेको सूचनामा उल्लेख छ ।
‘विश्वव्यापी महामारीको रुपमा फैलिई रहेको कोभिड–१९ रोगको कारण नेपालमा पनि हाल संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको र काभ्रेपलाञ्चोक जिल्लामा पनि संक्रमितको संख्या बढिरहेको छ । तेमाल गाउँकार्यपालिकाको कार्यालयमा पनि सेवाग्राहीहरुको आवतजावत र भिडभाड बढी हुँदा संक्रमणको जोखिम झन् बढ्न सक्ने सम्भावनालाई मध्य नजर गरि मिति २०७७÷०५÷०५ देखि अर्को सूचना नभएसम्मको लागि गाउँकार्यपालिकाको कार्यालय र सबै वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु स्थगित गर्ने कार्यापालिकाको मिति २०७७÷०५÷०४ निर्णयानुसार जानकारी गराईन्छ ।’
यो अवधिमा के गर्न मिल्छ, के गर्न मिल्दैन ?
१. अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कने र बाहिर निस्कदा मास्कको प्रयोग गर्ने र २ मिटरको सामाजिक दुरी कायम गर्ने ।
२. कुनै पनि किसिमको भेला, सभा, सम्मेलन, सामूहिक क्रियाकलाप र कुनै पनि मिसिमको भिडभाडजन्य कार्य नगर्ने ।
३. पसल व्यवासायीहरुले विहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म मात्र पसल खुल्ला गर्ने र अनिवार्य रुपमा मास्क लगाउनुपर्ने ।
४. आवतजावत गर्दा नेपाल सरकारबाट जारी भएका सम्पूर्ण स्वास्थ्य साम्बन्धी सुरक्षाका मापदण्ड अपनाई आजतजावत गर्ने ।
५. उद्योग कलकारखाना लगायतका व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले हाल उद्योग व्यवसाय सञ्चालन गर्न तथा निजि तथा सार्वजनिक निर्माणको काममा लगाईएका श्रमिक लगायतका जनशक्तिलाई अनिवार्य रुपमा जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड अवलम्बन गर्न लगाई उद्योग कलकारखानालाई सार्वजनिक तथा निजि निर्माणको परिसर भित्रै सुरक्षित रुपमा खाने बस्ने व्यवस्था गर्ने र हाललाई अन्यत्र स्थानबाट कामदारहरु नल्याउने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















