६ भदौ २०७७
काठमाडौं । सरकारले खाडीका श्रमिकलाई ‘वर्ग शत्रु’को नजरले हेरिएको कांग्रेसले आरोप लगाएको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज (शनिबार) एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएको हो ।
सर्वोच्चको आदेशलाई उल्लंघन गर्दै महंगो टिकटसँगै खर्च सबै व्यहोर्नुपर्ने सरकारी निर्णयले खाडीका श्रमिकलाई ‘वर्ग शत्रु’को नजरले हेरिएको शर्माको आरोप छ ।
‘६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ ?’ सबै खर्च पीडित श्रमिकलाई व्यहोर्न लगाउनु मानवीयता कि ‘सर्वहारामाथि अधिनायकवाद’ ?’ प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई प्रश्न गरे ।
कांग्रेस प्रवक्ता शर्माले निकालेको विज्ञप्तिः
खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ? सर्वोच्चको आदेश उल्लंघन गर्दै महंगो टिकटसँगै सबै खर्च बोकाउनु मानवीयता कि ‘सर्वहारामाथि अधिनायकवाद ?’
गएको असार १ गते सोमबार सम्मानित सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परी नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्धार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो । न्यायाधीशहरु आनन्द मोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासले गरेको आदेश कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता देखाएन । आदेशको दुई महिनापछि पुनः महंगो चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि पीडा सरकारले थप्न लागेको समाचारले नेपाली कांग्रेसलाई गम्भीर तुल्याएको छ ।
१. प्रवासी नेपाली जो जुन देशमा हुन् अप्ठ्यारोमा परेकालाई स्नेह र सहाराको हात दिनु राज्यको दायित्व थियो र हो । राज्यको यो दायित्वबारे नेपाली कांग्रेसले लिखित र मौखिक रूपमा निरन्तर प्रधानमन्त्रीदेखि मन्त्री हुँदै सम्बन्धित निकाय समक्ष राख्दै आएको छ। आज पुनः सार्वजनिक रुपले त्यही माग र आग्रह दोर्होयाउँदै प्रश्न गर्न चाहन्छौं ६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ ? सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्धार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ?
२. मन्त्रीपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्धार फ्लाईटको अनुमति दिएको छ । भदौ १६ बाट शुरु गर्ने भनिएको नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्धित गरिएका कतिपय देशका नेपाली श्रमिक यो न्यून संख्याको फ्लाइटबाट नेपाल आइपुग्न महिनौं लाग्ने देखिन्छ । उद्धारको यो कछुवा गतिभित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन ।
३. सरकारको पछिल्लो निर्णयअनुसार सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार त गर्न लाग्दैछ तर मानवीय भावना कम उद्धारमा व्यापारको मस्तिष्क धेरै खपत भएको देखिन्छ। एक त चार्टर फ्लाईटको महंगो टिकट काट्नुपर्ने, दोस्रो होटेल क्वारेन्टाइनमा सात दिनको खर्च व्यहोर्नुपर्ने, तेस्रो पिसिआर परिक्षण आफैं गराउनुपर्ने अनि चौथो गाउँ पुग्ने यातायात खर्च समेत आफैं हाल्नुपर्ने । अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘वर्ग शत्रु’ को व्यवहार ?
४. रोजगारी गुमाएका, बेतलवी बिदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकम मार्फत् हवाई टिकट व्यवस्था गरेर निःशुल्क उद्धार गर्न नेपाली कांग्रेस सरकार समक्ष पुरानो माग दोर्होयाउन चाहन्छ ।
यसबारे सर्वोच्चको आदेश पालना गर्न पनि सरकारलाई सचेत गराउँदै नेपाली कांग्रेस सरकारी खर्चमै क्वारेन्टाइन, पिसिआर परीक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन पनि सरकारलाई आग्रह गर्दछ । उद्धार गरिने नागरिकको प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारको समन्वयमा फरक–फरक कार्य गर्ने नेतृत्व क्षमता अपेक्षित छ ।
उच्च मानवीय भावना साथ ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ आत्मसात गर्न नेपाली कांग्रेस सार्वजनिक रुपले नेपाल सरकारलाई अपील गर्दछ ।
जय नेपाल
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















