६ भदौ २०७७
धुलिखेल । कोरोना संक्रमण बढ्दै गएपछि वागमती प्रदेशले काभ्रे जिल्लाको धुलिखेलमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । शनिबार एक कार्यक्रमका बीच वागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालको उपस्थितिमा उक्त प्रयोगशाला स्थापना गरिएको हो ।
कार्यक्रममा मन्त्री दुलालले कोरोना महामारी बढिरहेका बेला कोरोना सँगै अन्य प्रकारका रोगहरुको पहिचान र परिक्षण गर्ने उदेश्यले प्रादेशिक प्रयोगशाला काभ्रेको धुलिखेलमा स्थापना गरिएको बताए । प्रयोगशालामा कोरोना परिक्षण लगायत पहिचान गर्न नसकेका जटिल प्रकारका रोगहरु समेत परिक्षण हुने र कोरोनाको परिक्षणसँगै अन्य रोगहरुको पहिचान र परिक्षणले नागरिकहरुलाई थप सहज हुने दुलालले बताए ।
बागमती प्रदेश सरकारको राजधानी मकवानपुरको हेटौडामा भए पनि काभ्रे तथा आसपासका जिल्लाहरुमा सेवा कार्यालयहरु स्थापना गर्ने सरकारको नीति अनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको उनले बताए ।
प्रयोगशालामा बागमती प्रदेशको ६ जिल्लाको कोरोना परिक्षणलाई प्रथामिताको साथ परिक्षण गरिने जनाएको छ । बागमती प्रदेशको पहिलो चरणमा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लाका नागरिकहरुको कोरोना सम्वन्धी परिक्षण हुने जनाएको छ । जनस्वास्थ्य प्रयोगशालामा दैनिक एक हजार स्वाब परिक्षण गर्ने सक्ने क्षमताको स्थापना भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।
शनिबार प्रयोगशलाको स्थापना कार्यक्रममा बागमती प्रदेशका सांसदहरु रत्न ढकाल, चन्द्र लामा, लक्ष्मण लम्साल प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, प्रयोगशालाका निर्देशक नारायण कार्की, धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्मा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झा लगायतको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















