७ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा कोरोना संक्रमित संख्या १ सय ४० पुगेको छ । आज पाँचखाल नगरपालिका वडा नं. ३ की ३८ वर्षीय एकजना महिलामा कोरोना पोजिटिभ देखिएसँगै उक्त संख्यामा संक्रमित पुगेको हो ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार संक्रमित व्यक्तिहरुलाई विभिन्न आइसोलेशनमा राखी उपचार गराइएकोमा ४७ जना व्यक्तिहरु उपचार पश्चात निको भइ डिस्चार्ज भैसकेको छ । ‘२ जना व्यक्तिको मृत्यु भइसकेको र ९१ जना व्यक्तिहरु विभिन्न अस्पतालहरु तथा होम आइसोलेशनमा उपचाररत रहेका छन् ।’ डा. झाले तेमाल अनलाइनसँग भने ।
जिल्लाको विभिन्न अस्पतालका स्वास्थ्यकर्मी, विरामी र सुरक्षाकर्मीमा कोरोना संक्रमण बढेपछि डिसीसीएमसीको बैठक बसी नागरिकको आवतजावतलाई थप कडाइ गर्ने निर्णय गरेको छ ।
झाका अनुसार जिल्ला भित्रका संक्रमणको उच्च जोखिम भएका क्षेत्रभित्रको आवतजावतलाई नियन्त्रण गर्ने भएको छ । उनले निर्णय सुनाउँदै भने, ‘अत्यावश्यक अवस्थामा आवतजावत गर्दा अनिवार्य रुपमा मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग वा सावुन पानीले हात धुने लगायका जनस्वास्थ्य मापदण्ड, सुरक्षाका मापदण्ड तथा प्रोटोकलहरु अनिवार्य रुपमा पालना गराउने ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।