७ भदौ २०७७
सिन्धुपाल्चोक । जिल्लाको इलाका प्रहरी कार्यालय, मेलम्ची सिन्धुपाल्चोकले जबरजस्तीकरणी मुद्दा र चोरीका गरि दुईजना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । चोरी मुद्दाका फरार अभियुक्त ३३ वर्षपछि र जबरजस्तीकरणी मुद्दाका १८ वर्षपछि पक्राउ परेका हुन् ।
चोरी मुद्धामा पक्राउ पर्नेमा जिल्ला अदालत सिन्धुपाल्चोकको २०४४ असोज २९ गतेको फैसला दोषी ठहर भएका मेलम्ची नगरपालिका–८ का ७८ वर्षीय ग्याल्जो तामाङ रहेका छन् ।
मेलम्ची प्रहरीका इन्सपेक्टर फलबहादुर तामाङका अनुसार चोरी मुद्दामा दोषी ठहर भएका आरोपी तामाङलाई अदालतले १ महिना १५ दिन कैद र ५६ हजार ३८७ रुपैयाँ जरिवाना सुनाएको थियो ।
अदालतको आदेश लगत्तै तामाङ फरार थिए । मेलम्ची नगरपालिका–८ लाभगाउँ जंगलस्थितमा लुकेर बसेको अवस्थामा आरोपी तामाङलाई पक्राउ गरिएको इन्सपेक्टर तामाङले बताए ।
यस्तै जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्त मेलम्ची नगरपालिका–१९ का ३६ वर्षीय उत्तम भन्ने भोला बहादुर खड्का रहेका छन् ।
२०५९ जेठ २२ गते जिल्ला अदालतले जबरजस्तीकरणी मुद्दामा खड्कालाई १ वर्ष ५ महिना २३ दिन कैद सजाय तोकेको थियो । अदालतको आदेशलगत्तै खड्का फरार थिए ।
खड्कालाई मेलम्ची नगरपालिका–११ जरायोटारस्थित आफ्नै घरबाट पक्राउ गरिएको इन्सपेक्टर तामाङले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।