८ भदौ २०७७
भुम्लु । काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा पनि स्वास्थ्य प्रयोगशाला (ल्याव) स्थापना भएको छ । आइतबार गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले एक कार्यक्रमका बीच ल्यावको उद्घाटन गरेका थिए ।
स्थानीयले स्वास्थ्य प्रयोगशालाबाट सेवा लिनका लागि धुलिखेल वा बनेपा आउनुपर्ने बाध्यताको अब अन्त्य भएको छ । उक्त ल्याब भुम्लु गाउँपालिकाका सबै जनतालाई पायक पर्ने गरि वडा नं ८ मा रहेको स्वास्थ्य चौकीमा स्थापना गरेको हो ।
ल्याबको उद्घाटन गर्दै अध्यक्ष कुँवरले ल्यावबाट धेरैभन्दा धेरै भुम्लुका जनताले सेवा पाउने विश्वास व्यक्त गरे ।
जनताले पाउने अत्यावश्यक स्वास्थ्य सेवा दिलाउन गाउँपालिकाले कुनै पनि कसर बाँकी नराख्ने बताउँदै अध्यक्ष कुँवरले कोभिड संक्रमणको जोखिम आवस्थामा समेत स्वास्थ्य सेवा प्रदान गर्ने महान कार्यमा खटिएका स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त गरे ।
रगत, दिशा पिसाब लगायतका चेकजाँच गाउँमै हुने भएसँगै स्थानीयहरु समेत खुसी भएका छन् । गाउँमै ल्याब आएपछि स्थानीय सरकारले निर्वाचनमा बोलेका प्रतिबद्धता पुरा गर्न थालेको स्थानीयले बताए ।
स्थानीय तहको निर्वाचन पूर्व सामान्य औषधि उपचार गराउन समेत बनेपा र धुलिखेल पुग्नु पर्ने बाध्यताको अन्त्य स्थानीय सरकार बनेसँगै क्रमशः पुरा हुन थालेको छ ।
ल्याब उद्घाटन कार्यक्रममा बडाअध्यक्ष मोतिलाल लामा, रमेश खरेल, प्रमुख प्रशासकीय अधिकृत मदन बजगाई, अधिकृत रुपक अधिकारी, स्वास्थ्य शाखाका प्रमुख सुदर्शन भट्टराई लगायत सहभागी थियो ।
भुम्लु गाउँपालिकामा सबै बडामा स्वास्थ्य कार्यालय र भुगोल ठूलो भएको र जनसंख्याको आधारमा थप चारओटा स्वास्थ्य इकाइ समेत संचालनमा रहेको छ । प्रत्येक बडामा सुविधा सम्पन्न स्वास्थ्यचौकीका भवनहरुबाट स्वास्थ्य सेवा प्रवाह भैरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















