९ भदौ २०७७
बनेपा । कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि काभ्रेको बनेपा नगरपालिकाले ५० शय्याको आइसोलेसन कक्ष तयार गरेको छ। बनेपा नगरपालिका(५ स्थित बनेपा प्राविधिक शिक्षालय भवनका चारवटा कक्षामा सो आइसोलेसन कक्ष तयार गरिएको हो। नगरपालिकामा हाल कोरोना संक्रमितको संख्या ६५ पुगेको छ।
तीमध्ये २८ जना उपचारपछि घर फर्किएका छन्। बाँकी ‘होम आइसोलेसन’ तथा विभिन्न अस्पतालका आइसोलेसन कक्षमा उपचाररत रहेको नगरप्रमुख लक्ष्मी नरसिंह वादेले जानकारी दिए। उनका अनुसार संक्रमितको संख्या बढ्न सक्ने भएकाले हाल ५० वेडको आइसोलेसन कक्ष तयार गरिएको हो। ‘पूर्व तयारीस्वरुप स्थानीयस्तरमै आइसोलेसन कक्ष व्यवस्थित गरेका हौं,’ उनले भने।
हाल व्यवस्थित गरिएको उक्त आइसोलेसनमा ‘होम आइसोलेसन’मा रहेका चार जनालाई राखिएको छ। तयार गरिएको सो आइसोलेसन कक्षमा पुरुष, महिला, बालबालिका तथा नर्सिङ स्टेशनका लागि छुट्टछुट्टै बेड राखिएको छ। यसअघि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच बेडको आइसोलेसन कक्ष तयार गरिएको थियो। नगरप्रमुख वादेले भने, ‘संक्रमित थपिँदैछन्, अस्पतालको पाँच बेडले कसरी धान्छ र त्यसैले हाललाई ५० वेडको आइसोलेसन कक्ष बनाएका छौं।’
सो आइसोलेसन कक्षको व्यवस्थापनका लागि बनेपाका युवा व्यवसायी रत्नकुश रञ्जितले २० बेड सहयोग गरेका थिए। अन्य आवश्यकीय सम्पूर्ण सामग्री नगरपालिकाले व्यवस्थापन गरेको प्रमुख वादेले बताए। उनका अनुसार आइसोलेसन कक्षमा इन्टरनेट सुविधाका साथै सिसिटिभी क्यामेरा जडान तथा त्यहाँ बस्ने संक्रमितका लागि स्थानीय पार्टी प्यालेसबाट खानाको व्यवस्थापन गरिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















