मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री रुष्ट !
१० भदौ २०७७
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलामान घिसिङ्लाई नै पुन नियुक्त गरेकोमा मंगलबार साँझ सामाजिक संजालमा बधाईको ओइरो नै लाग्यो । मन्त्रिपरिषद्को हवाला दिंदै सामाजिक सञ्जालहरुमा यसरी बधाईको ओइरो नै लागेको हो ।
बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु हुनासाथै कुलमानप्रति आउन थालेको बधाईको ओइरो त्यतिबेला मात्रै रोकियो जतिबेला केही अनलाइन मिडियाले कुलमानको नियुक्ति सहि नभएको र मन्त्रिपरिषदमा प्रस्ताव नै नपुगेको उर्जा मन्त्रालयको खण्डन प्रकाशन गरे ।
१८ घण्टासम्म लोडसेडिङ् झेलिरहेको नेपाललाई लोडसेडिङ्मुक्त बनाउने जस उनै कुलमान जान्छ र जनसमुदायमा उनीप्रति अथाहा समर्थन पनि रहेको देखिन्छ ।
उनलाई रुचाउनेहरुको संख्या यति ठुलो छ कि सेलिबे्रटी फिगरदेखि सामान्य मानिससम्म । तर देशका कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली भने कुलमान घिसिङ्सँग सन्तुष्ट छैनन् । कुलमानले बालुवाटारबाट लगाइएका सामान्य नियुक्ति र सरुवा बढुवाका काममा समेत नटेरेपछि ओली रिसाएका हुन् ।
प्रधानमन्त्री ओली नेपाल विद्युत प्राधिकरणले गरेको काम कारवाहीको जस नेपाल सरकारलाई आउनुपर्नेमा कुलमानले नीजि जस्तै बनाएको भन्दै उनलाई नदोहोर्‍याउने पक्षमा उभिएको बताइन्छ ।
साथै ओलीले आफ्नो पपुलारिटीका लागी मात्रै कुलमानले काम गरेको र सरकारलाई नटेरेकोले कुलमानको विकल्प अरुलाई नै कार्यकारी निर्देशक बनाउने तयारीमा रहेको बालुवाटार स्रोत बताउँछ ।
उसो त उर्जा मन्त्रालय समेत कुलमानसँग खुश छैन । उर्जा मन्त्रालयका कतिपय वरिष्ठ अधिकारीहरु र मन्त्रीसमेत कुलमानको कार्यशैलीप्रति खुश छैनन् । उनले कसैलाई पनि नटेर्ने र पछिल्लो समय जायज कुरा पनि नसुन्ने गर्न थालेको मन्त्रालयमा चर्चा चल्ने गरेको छ ।
उनैले नेतृत्व गरेको प्राधिकरणका कर्मचारी कुलमानको कार्यशैलीसँग असन्तुष्ट छन् । पपुलारिटीको आडमा कुलमान निरकुंश र नोकरशाही बन्दै गएको कर्मचारीहरुको दावी छ ।
उर्जामन्त्री वर्षमान पुन यसबारेमा मौन रहेपनि उनको सचिवालयका सदस्यहरुले भने कुलमानले कार्यशैली सच्याउनुपर्ने नत्र दोहोर्‍याउन नसकिने बताएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।