११ भदौ २०७७
काठमाडौं । नागरिक उड्डयन मन्त्रालय र संसदीय समितिले आर्थिक र प्राविधिक रूपमा अनुपयुक्त भनेको काभे्रको नागीडाँडामा १७ अर्ब लागतमा विमानस्थल बनाउने तयारी थालिएको छ । काभ्रेमा १ हजार मिटर रनवे भएको सानो आन्तरिक विमानस्थल बनाउन जापानी सहयोग नियोग (जाइका)सँग अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा बढी १७ अर्ब रुपैयाँ ऋण लिने तयारी सुरु गरिएको हो ।
यसअघि नागरिक उड्डयन प्राधिकरणले सो स्थानमा विमानस्थल बनाउन १० अर्ब लागत अनुमान गरेकोमा त्यसलाई बढाएर १७ अर्ब पु¥याएर जाइकाले प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको छ । तर, विमानस्थल बनाउन त्यो रकम पनि अनुदानमा नभई ऋणमा दिने प्रस्ताव पनि जाइकाले प्राधिकरणलाई गरेको छ ।
हवाई क्षेत्रका विज्ञहरूले काभ्रेमा विमानस्थल बनाउन आर्थिक र प्राविधिक दुवै हिसाबबाट असम्भव रहेको बताउँदै आएका छन् । प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजा नेतृत्वको सात सदस्यीय कार्यदलले काभ्रेमा विमानस्थल बनाउन उपयुक्त नहुने सुझाब दिएको थियो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संयोजकत्वको कार्यदलले त काभ्रेमा विमानस्थल नबनाउन निर्देशन नै दिएको थियो ।
सरकारले एसियाली विकास बैैंक ९एडिबी०सँग ऋण लिएर भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ७ अर्ब रुपैयाँ मात्रै खर्च गर्दै छ । यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ एक्जिम बैंकसँग ऋण लिएर २२ अर्ब रुपैयाँमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । तर, ४२ सिटरभन्दा ठूला जहाज उडान नै गर्न नसक्ने सानो आन्तरिक विमानस्थल निर्माण गर्न राज्यकोषको १७ अर्ब खर्च गर्ने प्रस्ताव गरिएको छ ।
यो समाचार नयाँपत्रिका दैनिकमा केदर दाहालले लेखेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















