११ भदौ २०७७
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले आफ्नो जन्मदिनको अवसर पारेर आमा–बुबाको नाममा एक कोष स्थापना गरेका छन् । आफ्नो ४७ औं जन्म दिनको अवसर पारी अध्यक्ष लामाले गम्भीर प्रकृतिका रोगको उपचारमा लागि सहयोग गर्ने उद्देश्यले ५ लाखको कोष स्थापना गरेका हुन् ।

‘जो उपचार गराउन असमर्थ छ वा जसलाई थोरै रकमबाट उपचारमा सहज हुन सक्छ, त्यस्तो ब्यक्तिलाई कोषबाट सहयोग पुर्याउने उदेश्यले पारिवारिक संरक्षण रहने गरी कोष स्थापना गर्न लागेको हुँ ।’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘पहिलो वर्ष ५ लाख रुपैयाँको कोष स्थापना गर्न लागेका छों । मेरी आमा चन्द्रकुमारी र स्व. बुबा देवीसि लामाको नामबाट स्थापना गरिने कोषमा परिवारका अन्य सदस्यहरुको समेत योगदान रहने छ ।’
व्यक्तिगत तर्फबाट गरिएको उक्त कोषको निरन्तरता तथा त्यस्ता ब्यक्तिहरुको सहयोगका लागि स्थापना गरिने कोषको संरक्षणका लागि परिवारका सदस्यहरुले समेत जिम्मेवारी वहन गरेका छन् । रोशी गाउँपालिकाले गम्भीर प्रकृतिका रोग लागेका नागरिकहरुका लागि यातायात खर्च वापत २५ हजार रकम उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले सिमित क्षेत्रका नागरिकहरुका लागि मात्रै सेवा उपलब्ध गराउन सक्ने भएकाले जिल्ला भरका नागरिकहरुका लागि सहयोग पुर्याउने उद्देश्यले पारिवारिक रुपमा कोषको स्थापना गरिएको अध्यक्ष लामाले बताए । ।
बुवाआमाको नामबाट ट्रष्ट गठन गर्ने र कार्यविधि समेत तयार गरी सञ्चालन गर्ने गरी पारिवारिक छलफल पछि आफूले ५ लाखको कोष तत्काल स्थापना गर्न लागेको लामाको भनाई छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















