१२ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लाको बनेपा नगरपालिका निवासी पूर्व उद्योग राज्यमन्त्री कञ्चन वादेलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणपछि पूर्वमन्त्री वादे काठमाडौंस्थित ह्याम्स अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
उनले १० दिनअघि ज्वरो आएपछि बनेपामा नै उपचार गराएका थिए । तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई काठमाडौं रेफर गरिएको थियो । काठमाडौंमा कोरोना भाइरसको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको अस्पतालले जानकारी दिएको छ ।
हाल उनको अवस्थामा सुधार भएकाले आइसियूबाट सामान्य बेडमा सार्ने तयारी भइरहेको समेत अस्पतालले जानकारी दिएको छ । केही समयअघि उनले मुटुको समेत उपचार गराएका थिए ।
दोस्रो संविधान सभा निर्वाचनमा काभ्रे क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका तर्फबाट विजयी भएका वादे प्रचण्ड नेतृत्वको सरकारको पालामा उद्योग राज्यमन्त्री बनेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।