१३ भदौ २०७७
तेमाल । यतिखेर नेपाली काँग्रेस पार्टी केन्द्रदेखि वडासम्मको अधिवेशनको चटारोमा छ । अधिवेशनको चटारो बढ्दै गएपछि कृयासिल सदस्य बढाउने देखि आ–आफ्नो पक्षमा ल्याउनेसम्म ठूलै रस्साकसी चलिरहेको छ ।
काभ्रेमा पनि कसरी आफ्नो गुट सफल बनाउने भन्ने ध्याउन्नमा काँग्रेस नेताहरु लागेका छन् । अरु पार्टीका कार्यकर्ताहरुलाई समेत कृयाशिल सदस्य बनाएर भएपनि आफ्नो पक्षमा बहुमत देखाउन केही कसर बाँकी नराखेको देखिन्छ ।
यसको एउटैमात्र उदाहरण तेमाल गाउँपालिका वडा नं. ९ मा देखिएको छ । आफ्नो पक्षमा बहुमत क्रियाशिल सदस्य देखाउन नेकपाबाट निर्वाचित वडा सदस्य समेतलाई क्रियाशिल सदस्यको लिष्टमा राखिएको छ ।
काँग्रेसको यो हर्कत प्रति वडा सदस्य कान्छा लामा आश्चर्यचकित भएका छन् । लामा स्थानीय तहको निर्वाचनमा नेकपा (माओावदी केन्द्र)को तर्फबाट निर्वाचित वडा सदस्य हुन् ।
आफ्नो राजनीतिक चरित्र हत्या गर्न काँग्रेस कार्यकर्ताहरुले खेलेको यो घीनलाग्दो खेलप्रति वडा सदस्य लामाले घोरभर्त्सना समेत गरेका छन् ।
आफू काँग्रेस जस्तो यथास्थितिवादी, घोर दक्षिणपन्थी र दलाल पूँजीवादी पार्टीमा जान कल्पना समेत गर्न नसक्ने उनले जनाएका छन् । ‘काँग्रेस जस्तो यथास्थितिवादी, घोर दक्षिणपन्थी र दलाल पूँजीवादी पार्टीमा जाने त मैले कल्पना समेत गर्न सक्दिन ।’ वडा सदस्य लामाले भने, ‘काँग्रेसको नाटक देख्दा म अचम्मित भएको छु । मेरो चरित्र हत्या गर्न काँग्रेसले रचेको यो नाटकको म खण्डन गर्न चाहन्छु ।’
आम पार्टी पंक्ति, पार्टी गाउँ कमिटी, वडा कमिटि र सम्पूर्ण मतदाताहरु काँग्रेसको भ्रममा नपर्न लामाले अनुरोध समेत गरेका छन् ।
वडामा सबैभन्दा धेरै मत ल्याएर जितेका लामाको पारिवारिक पृष्ठभूमी कम्युनिष्ट नै हो । उनको बुबा माइला लामा २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट उम्मेदवार बन्दा जम्मा ६ भोटले हारेका थिए ।
वडा सदस्य लामाले लेखेका फेसबुकमा यस्तो लेखेका छन्ः
गम्भीर ध्यानाकर्षण भएकोबारेः
सर्वप्रथम त नेपाली काँग्रेस पार्टी, तेमाल–९, को क्रियाशिल सदस्य विवरणमा मेरो नाम समावेश गराइएको प्रति गम्भिर ध्यानाकार्षण भएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।
कम्युनिष्ट आन्दोलनमा सहभागी भएको ऐतिहासिक पृष्ठभूमि भएको मेरो परिवारको राजनीतिक चरित्र नै हत्या गर्ने तरिकाले काँग्रेसले खेलेको लाजमार्दो भूमिका प्रति आपत्ति पनि जनाउन चाहन्छु । नेपाली काँग्रेस जस्तो यथास्थितिवादी, घोर दक्षिणपन्थी र दलाल पूँजीवादी पार्टीमा जाने र रहने भन्ने कुरा मैले कल्पना समेत गर्न सक्दिन ।
काँग्रेसको कथित अधिवेशनको समय पारेर मेरो नाम क्रियाशिल सदस्यको विवरणमा समावेश गरेर आम जनता, हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र मलाई विश्वास गर्ने आम मतदाताहरुमा समेत भ्रम सिर्जना गरेको छ । यो भ्रमको म पूर्णरुपमा खारेज गर्न चाहन्छु ।
म तत्कालीन नेकपा (माओवादी केन्द्र)को तर्फबाट निर्वाचित वडा सदस्य हुँ । मेरो बुबा पन्चायतकाल देखि नै सर्वहारा वर्गको निम्ति संघर्ष गरेर कम्युनिष्ट आन्दोलनमा लागेको व्यक्ति हुनुहन्थ्यो । म पनि माओवादी जनयुद्ध लडेको एक योद्धा हुँ । आम जनता र पार्टी पंक्तिलाई सबै थाहा भएकै कुरा हो ।
क्रियाशिल सदस्यको विवरणमा मेरो नाम समावेश गरेर जनतामा भ्रम सिर्जना गर्ने कार्य नगर्न नेपाली काँग्रेससँग म विनम्र अनुरोध गर्न चाहन्छु । साथै काँग्रेसले फैलाएको भ्रममा नपर्न आम जनता, पार्टी पंक्तिलाई म हार्दिक अनुरोध समेत गर्न चाहन्छु ।
क्रान्तिकारी अभिवादन सहित
कान्छा लामा
वडा सदस्य
तेमाल गाउँपालिका वडा नं. ९, काभ्रे
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















