१४ भदौ २०७७
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षण सुरु गरेको छ। नगरभित्र दिन प्रतिदिन संक्रमित बढ्न थालेपछि समुदायस्तरमा फैलिएको शंकामा परीक्षण सुरु गरिएको हो। त्यसका लागि नगरपालिकाले संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा रहेका र नगरका जोखिममा परेकाहरुको पहिचान गरी नामावली संकलन थालेको छ।
समुदायस्तरको परीक्षणका लागि नगरपालिकाले वडा वडामा रहेका दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न तथा किराना, तरकारी तथा फलफूल, माछा, मासु पसल सञ्चालकहरुको समेत नामावली संकलन गरिएको वडा नम्बर १ का वडाअध्यक्ष सुरज खड्काले बताए।
नगरपालिकाले कम्तीमा एक हजार जनाको परीक्षण गर्न लागेको हो। त्यसका लागि वडा वडामा नामावली संकलन गरी शुक्रबारसम्म ६०० जनाभन्दा बढीको नाम संकलन गरी सकिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। ‘श्ुाक्रबारसम्म मध्यपुर थिमी नपामा ६०४ जनाको कन्टयाक टेसिङ गर्ने कार्य सम्पन्न गरिसक्यौं,’ नगरप्रुमख श्रेष्ठले भने, ‘संकलन भदौ १ गतेदेखि नै शुरु गरेको हो, १४ गतेसम्म एकहजारसम्म गर्ने योजना छ।’
बढ्दो सक्रमणका कारण एकजना कोरोना संक्रमितसँग सम्पर्कमा आएका सबैको पहिचान गरेर स्वाब संकलन गरिएको बताइएको छ। जसले गर्दा संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा कोरोना देखिएमा समयमै आवश्यक सुरक्षा अपनाउन सकिने नगरप्रमुख श्रेष्ठले बताए।
‘विशेष गरी संक्रमित व्यक्तिको प्रत्यक्ष र नजिकको सम्पर्कमा आएकाहरुको नाम संकलन गरी सबैको स्वाब परीक्षण कार्य भइरहेको छ,’ नगरप्रमुख श्रेष्ठले भने। नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पिसिआर परीक्षणको हुन थालेपछि २४ घण्टाभित्रै नतिजा आउन थालेको बताउँदैं नगरप्रमुख श्रेष्ठले नतिजा आएपछि संक्रमितको अवस्थाअनुसार कसैलाई होम आइसोलेसन र कसैलाई अस्पतालको आइसोलेसनमा पठाउने काम भैरहेको जानकारी दिए। भक्तपुरका चारवटा नगरपालिकामध्ये मध्यपुर थिमिमा सबैभन्दा बढी संक्रमित रहेका छन्।
यसैबीच मध्यपुर थिमि नगरभित्र २०० शय्याको आइसोलेसन वार्ड तयार हुने भएको छ। नगरभित्र संक्रमितहरुको संख्या दिनानुदिन बढ्न थालेको र उपत्यकामा नै आइसोलेसन वार्डको कमी हुन थालेपछि नगरपालिकाको समन्वयमा सानोठिमीस्थित सिटिइभिटीको टिआइटिआई र युसेपको छात्रावास र कृषि विकास बैंकको बोडेस्थित तालिम केन्द्रको गेष्ट हाउसलाई आइसोलेसन बनाउन लागेको हो।
यसैगरी मध्यपुर थिमि नगरपालिकाले नगरक्षेत्रमा निसंक्रमण अभियान थालेको छ। नगरपालिकाले विभिन्न सामाजिक संघसंस्था र सहकारी संस्थाको सहयोग र सहकार्यमा निसंक्रमण अभियान थालेको हो। यस अन्तर्गत शनिवार वडा नम्बर १ मा दिव्यश्वरी, लोहकिल्थली, बजरंगवली, लोहकिल्थली माता, दक्षिणकाली महिला र सारथी वचत तथा ऋण सहकारी संस्थाको सहयोग र समन्वयमा निसंक्रमण गरिएको छ।