१५ भदौ २०७७
महाभारत । पछिल्लो चरण विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि द्रुत गतिमा फैलिरहेको छ । काभ्रेमा पनि दिनानुदिन संक्रमित संख्या उकोलिएको छ ।
विशेष गरि काभ्रेको मुख्य बजार क्षेत्रमा संक्रमण बढीरहेको छ । ग्रामिण क्षेत्रमा कोरोना भइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि स्थानीय सरकार लागि रहेको छ । यसै सन्दर्भमा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कोरोना सम्बन्धि जनचेतना जगाउन घरदैलो अभिायन नै सञ्चालन गरेका छन् ।

कोरोना भाइरसले मुलुकमा पारेको नकारात्मक प्रभाव र आफ्नो क्षेत्रभित्र रोकथामका लागि के–के गर्न सकिन्छ र गाउँपालिकाले के–के गरिरहेको छ भन्ने विषयमा जनतालाई घर–घरमै पुगेर जानकारी, परामर्श र अन्तरकृया गरेको पालिका अध्यक्ष जिम्बाले जानकारी दिए । ‘विशेष गरि पछिल्लो चरणमा कोरोना भाइरसबाट काभ्रेमा पनि धेरै मान्छेहरु संक्रमित भएका छन् । अब यसको रोकथामको जिम्मेवारी हाम्रै हो ।’ जिम्बाले भने, ‘त्यसैले जनतालाई सहि सूचना दिने, जनताको समस्या बुझ्ने र सामूहिक रुपमा कोरोना विरुद्ध लड्नलाई यो घरदैलो अभियान सञ्चालन गरेका हौं ।’

गोकुलु, घर्तिछाप, बनखु, फोक्सीङटार, बुढाखानीसम्मको घरदैलो अभियानमा आफूले जनताको समस्या, कोरोना भाइरस सम्बन्धी जनताको धारणा बुझ्ने, विभिन्न प्रकारको विरामी जनतासँग भेटघाट गर्ने काम भएको उनले बताए । ‘कोरोना भाइरसँग सम्बन्धित रहेर जनताको धारना बुझ्ने, कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले चालिएको कदमहरुले जनतामा पारेरका समस्याहरु नजिकबाट बुझ्ने काम भएको छ ।’ उनले भने, ‘दिर्घरोगी र विभिन्न प्रकारका विरामी जनताहरुसँग पनि भेटघाट गरेका छौं ।’

आफूले थाहा पाएको जनताको हरेक समस्या प्रति गम्भिर भएको बताउँदै अध्यक्ष जिम्बाले जनताको समस्या समाधान गर्ने भनेरै आफू स्थानीय सरकारको नतृत्वमा आएकोले जिम्मेवारी ढंगले जनताको समस्या समाधान गर्न तिर लाग्ने उनले बताए ।
विकास निर्माण सम्बन्धी परामर्श
यसैबीच गाउँपालिका अध्यक्ष जिम्बाले गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षका विकास निर्माणका योजनाहरुकोबारेमा पनि जनतासँग परामर्श गरेका छन् ।

जनताको गुनासो, जिज्ञासा र सवालहरु सुन्न पनि घरदैलो गएको जिम्बाले बताए । ‘हामीले जनतासँगै बसेर विगतको विकास निर्माण लगायतका विषयमा समिक्षा गरेका थियौं । साथै चालुक आर्थिक वर्षको योजनाहरुको बारेमा पनि कुराकानी गरेका छौं ।’ उनले भने, ‘जनताको केही आकांक्षाहरु बाँकी नै छन् तर सबैजसो आकांक्षा पूरा भएको महासुस मैले गरेको छु । साथै हाम्रो कार्यकाल भित्र नै जनताले आफ्नै जीवनमा अनुभूति गर्ने गरि केही हुन्छ ।’
जनताले आफूलाई धेरै राम्रा–राम्रो सुझावहरु दिएको बताउँदै जनताको सल्लाह सुझावलाई शिरमा राखेर अगाडी बढ्ने उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















