१८ भदौ २०७७
बनेपा । क्यान्सरबाट निधन भएकी महाभारत गाउँपालिका वडा नं. ८, घर्तीछापकी सुकुमाया थिङको उपचारको लागि संकलित रकम उनकी श्रीमान प्रताप थिङलाई हस्तान्तर गरेको छ । क्यान्सरबाट निधन भएकी थिङको नाबालक छोराछोरीको पढाइको लागि खर्च गर्न उक्त रकम हस्तान्तरण गरिएको हो ।
सो रकम महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले मृतककी श्रीमान थिङलाई आज (विहिबार) हस्तान्तरण गरेका छन् । अध्यक्ष जिम्बाले उपचारको लागि संकलन भएको २ लाख २२ हजार ३ सय ४२ रुपैँया बराबरको चेक क्यान्सरबाट मृत्यु भएकी थिङको श्रीमान थिङलाई हस्तान्तरण गरेका हुन् ।
विदेशबाट सहयोग गर्नेहरुले नेपालबाट सहजीकरण गर्ने अभियान्तमध्येका एक तस्वीर मोक्तानको नाममा महाभारत गाउँपालिकास्थित रहेको सनराईज् बैंकको खातामा सो रकम पठाएको थियो । थिङको गत असार २३ गते टिचिङ अस्पातलमा उपचारको क्रममा निधन भएको थियो । उक्त रकम अभियान्त विजय थिङ र राकेश लामाको अगुवाईमा संक्रलन भएको थियो ।
थिङको उपचार गर्नको लागि भनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका महाभारतवासी लगायतका विभिन्न व्यक्तिहरुले रकम संकलन गरिएको थियो । तर संकलन भएको रकम बुझाउन नपाउँदै थिङको निधन भएपछि सहयोग गर्ने व्यक्तिहरुले उक्त रकम उनको छोराछोरीका शिक्षामा प्रयोग गर्ने निर्णय गरेसँगै गाउँपालिका अध्यक्ष जिम्बाले मृतकको श्रीमानलाई रकम हस्तान्तरण गरिएका थिए ।

गाउँपालिका अध्यक्ष जिम्बाले आफ्नो छाक कटाएर पठाएको सहयोग रकमलाई छोराछोरीको पठनपाठनमा नै उचित उपयोग गर्नेमा आफु विश्वस्ता रहेको बताए । ‘बचाउ अभियान नै सञ्चालन गरी उपचार गरेपनि विरामीलाई बचाउन सकेनौं, हामी सबै अभियान्त पनि दुःखी छौँ ।’ उनले भने, ‘यस दुःखत् घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दै सहयोग रकम छोराछोरीको शिक्षामा सही सदुयोग गर्न अनुरोध गर्छु । जसबाट छोराछोरीले गर्वका साथ मेरो आमा नरहे पनि सहयोग रकमबाट हामीले राम्रो पठनपाठन गर्न पायौं भन्न सकुन्, हाम्रो चाहना अनि अनुरोध यही हो ।’
त्यस्तै मृतकका श्रीमान प्रताप थिङले पनि सहयोग रकमलाई सही सदुयोग गर्ने बचन दिए । ‘मेरो छोराछोरीको थप अध्ययनको राम्रो बनाउनको लागि सहयोग भएको रकमलाई कुनै हिनामिना नगरी उचित प्रयोग गरी उनीहरुको पठनपाठनमा नै खर्च गर्नेछु ।’ उनले भने ।
रकम हस्तान्तरण गर्न अध्यक्ष जिम्बासँगै समाजसेवी तथा नेकपाका युवा नेता सुजन लामा, अमृत योञ्जन, तस्वीर मोक्तान, रिजन मगर लगायतका सहभागी थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।