नेत्रविक्रम चन्द ‘विप्लव’
२० भदौ २०७७
हेटौंडा । सरकारद्वारा प्रतिबन्धित नेकपा (विप्लव) समूहका मकवानपुर जिल्ला सेक्रेटरी सहित १ सय ३८ जनाले पार्टी छाडेका छन् । शुक्रबार मकवानपुरको भीमफेदी गाउँपालिका–९ को लेकाली बसिँफाट माविमा एक कार्यक्रमको आयोजना गरेर पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरुमा जिल्ला सेक्रेटरी जयराम रायमाझी (पासाङ), नेकपाको ब्युरो सदस्य तथा प्लाटुन कमाण्डरहरु धन बहादुर थिङ –विमल) र किरण, अखिल नेपाल क्रान्तिकारी महिला संगठन नारायणी ब्युरो सदस्य रेखा मगर, जिल्ला सचिवालय सदस्य सोम घलान, यस्तै प्लाटुन सहायक कमाण्ड सन्जु, जिल्ला सदस्यहरु नेत्र गौतम, सन्दिप ढुंगाना, जुरे घिसिङ रहेका छन् ।
पार्टी परित्याग कार्यक्रममा बोल्दै सेक्रेटरी पासाङले नेत्र विक्रम विप्लव नेकपामा व्यक्तिवादी चरित्र हाबी भएको बताए । कम्युनिस्ट पार्टीको नाममा गलत क्रियाकलापतिर समेत संलग्न भएको पाइएको भन्दै उनले केही व्यक्तिको दासको निम्ति काम गर्न नसक्ने भन्दै १ सय ३८ जना विभिन्न कमिटी र जनवर्गीय संगठनमा भएकाहरुले पार्टी परित्याग गरेको बताए ।
सरकारले स्वतन्त्र नागरिकको रुपमा परिभाषित गरेको नागरिकको रुपमा अब जीवनयापन गरेता पनि समाजवादको विचारलाई भने आफूहरुले नछोड्ने पासाङले बताए ।
कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्टले प्रतिबन्धित नभई स्वतन्त्र र खुला समाजमा आउनेहरुको स्वागत गर्ने बताएका थिए । पार्टी परित्यागमा यसअघि नै नेकपा परित्याग गरेका पूर्व जिल्ला इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’, नेकपा नेता विष्णुु विष्ट लगायतको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।