२० भदौ २०७७
काठमाडौँ । सरकारद्वारा प्रतिबन्धीत नेकपा (विप्लब समूह)का केन्द्रिय नेता तथा मार्क्सवादी लेखक अनिल शर्मालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर अस्पतालमा लामो समयदेखि उपचाररत शर्मालाई अस्पतालबाटै आज प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै शर्मालाई गिरफ्तार गरेको थियो । शर्माविरुद्ध धनुषामा अर्को मुद्दा रहेको भन्दै प्रहरीले उनलाई गिरफ्तार गरेको जनाइएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या आएपछि अस्पतालमा उपचार गराइरहेकै बेला प्रहरीले शर्मालाई वैशाख २३ गते गिरफ्तार गरेको थियो । शर्माका पक्षबाट जिल्ला अदालत चितवनमा दायर रिटउपर भएको बहसमा अदालतले उनलाई रिहा गर्न आदेश दिएको भए पनि प्रहरीले उनलाई अस्पतालमा घेरा हालिरहेको थियो । बिरामी अवस्थामा अस्पतालमै प्रहरीले घेरा दिएको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो ।
मानवअधिकारकर्मी, पत्रकार, कानुनव्यवसायी, लेखक, साहित्यकार सबैले शर्मालाई बिनासर्त रिहा गर्न र उपचाररत अवस्थामा प्रहरी लगाई घेरा नहाल्न यसअघि नै अनुरोध गर्दै आएका थिए । शर्माको पुनः गिरफ्तारीको चौतर्फी आलोचना भएको छ ।

माओवादी जनयुद्धमा महत्वपूर्ण भूमिका खेलेका शर्मा माओवादी पार्टी फुटेपछि विप्लब समूहमा समावेश भएका थिए । उनी पक्राउ पर्नु अघि भुमिगत समेत थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















