२१ भदौ २०७७
बनेपा । सत्तारुढ दल नेकपा निकट मजदुर संगठन अखिल नेपाल टे«ड युनियन महासंघ बनेपा नगरसमितिको सक्रियतामा बनेपामा सरसफाई गरेको छ । मजुदरहरुले जिल्लाको बनेपा नगरपालिका–१० पुलबजार स्थित पुण्यमाता खोलामा रहेका मल्लकालीन पुलको सरसफाई गरेका हुन् ।
मल्लकालीन समयमा निर्माण भएको उक्त ऐतिहासिक पुल फोहोर मैलाको कारण कुरुप बन्दै गएको थियो । उक्त पुल क्षेत्र धार्मिक तथा पुरातात्विक हिसाबले समेत निकै महत्वपुर्ण क्षत्र हुन् । प्राचीन बनेपामा ‘भोलाखा’ भन्ने बस्ती रहेको मानिन्छ । वि.स. ११५९ मा पुर्व मध्यकालीन राजा आनन्ददेव मल्लले बनेपाको भोलाखासँग अन्य बस्तीहरु जोडिने बाटो निर्माणको क्रममा पुलबजारामा पनि पुल बनाएको हुन सक्ने स्थानीय धार्मिक तथा पुरातात्वित विज्ञहरुले अनुमान गरेका छन् ।
अरनिको राजमार्ग निर्माण हुन पहिले बनेपा–काठमाडौँ अन्तर्गतको यो बाटो पुल बजारको पुरानो पुल हुँदै दछुटोलसम्म जोडिन्थ्यो । पुण्यमाती खोलाको कारण मानिस हिड्न समस्या भएपछि पुलको स्थापना गरेको देखिन्छ । यो पुलको बाटो हुँदै मानिसहरु दछुटोलमा रहेको प्राचीन गणेश मन्दिर हुँदै चाण्डेश्वर मन्दिरसम्म दर्शन गर्न पुग्ने गरेको स्थानीयहरु बताउँछन् ।
वडाध्यक्ष चन्द्रबहादुर खड्काले मल्लकालीन पुलमा पहिलो पटक बनेपाको धनदास बादे श्रेष्ठले लहरी गाडी चलाएको स्मरण गर्दै पुलको संरक्षणको लागि आफुले पहल गरिरहेको जानकारी दिए ।
‘बनेपाको अत्यन्त पुरानो ऐतिहासिक पुल कहिले बनेको भन्ने कुनै तथ्य फेला नपरेको छैन’, उनले भने, ‘कोभिड–१९ को जोखिमबीचमा पनि हातमा ग्लोब र मुखमा मास्क लगाउँदै भौतिक दुरी कायम राखि टे«ड युनिय बनेपा नगरसमितिको अगुवाईमा कुटो कोदालो बोकेर सरसफाईमा जुट्दा म उत्साहित छु, यसले निरन्तरता पाउनु छ ।
त्यस्तै नेकपा नेता इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले घरभित्र बसेर मात्र कोभिड–१९ लाई परास्त गर्न नसकिने र भौतिक दुरी कायम राखी आफ्ना घर वरपर सफा राख्न स्थानीयहरु जागरुक हुनुपर्ने बताए । ‘कोभिड–१९ सँग लड्न वातावरण पनि सफा हुनुपर्छ भन्ने चेतना दिलाउन ट्रेड युनियनले गरेको काम अनुकरणीय छ,’ नेता थिङले भने, ‘मर्निङ वाकमा आउने क्रममा ट्रेड युनियन महासंघका साथीहरू सरसफाइमा जुटेको देखेर म पनि सहभागी भएको हो ।’
टे«ड युनियन महासंघ बनेपा नगरसमितिको इन्चार्ज राजन अधिकारीले कोरोना भारइसले विश्व आक्रान्त बनिरहेको सन्दर्भमा पनि आफ्ना क्षेत्रमा रहेको पुरातात्विक सम्पादा जोगाउन तथा तिनीहरुलाइ कालान्तरसम्म जिवित राख्न मल्लकालीन पुल सफाई गरेको जानकारी दिए ।
सरसफाई कार्यक्रममा टे«ड युनियन नगरसमितिको संयोजक मिनराज केसी, राम शरण खुलाल, दिल बहादुर भुजेल, विनोद नेपाली, मानकाजी सुवाल, इकमान लामा, उद्धव प्रसाद तिमल्सिना, मान बहादुर दर्लामी (सलन), पुर्ण चन्द्र सिग्देल, पुर्ण बहादुर खत्री, भुवन कुमार सिंजाली, उपेन्द्र ठाडा मगर, उद्धव अधिकारी, श्रजला कटुवाल, वेली माया लामा, सदिक्षा अधिकारी, देवी लामा, सुजना पराजुली, हरि बहादुर पराजुली, गोविन्द कटुवाल, महेश कार्की लगायत मजदुरहरु र स्थानीयबासीहरुको उपस्थिति रहेका थिए ।

Comments

comments