२६ भदौ २०७७
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २ स्थित लिदी गाउँमा गत साउन ३० गते गएको पहिरो पीडित तामाङ समुदायलाई अहिलेसम्मकै सबैभन्दा बढी सहयोग रकम हस्तान्तरण गरेको छ । विभिन्न तामाङ संस्थाहरुले संकलन गरेको आर्थिस सहयोग शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।
विदेश स्थित तामाङ संघ÷संस्थाका प्रतिनिधिहरुले शुक्रबार नेपाल तामाङ घेदुङको सङ्घीय सभाहल चुच्चेपाटी, बौद्धमा विदेशमा संकलित एकमुष्ट रकम २२ लाख १२ हजार ४ सय ९५ रुपैयाँ रकम पीडित परिवार समक्ष पु¥याई वितरण गर्न नेपाल तामाङ घेदुङ विपद ब्यवस्थापन प्रमूख रामकृष्ण ब्लोन तामाङलाई हस्तान्तरण गरेको थियो । यो रकम अन्य संस्थाले वितरण गरेकोमध्ये आजसम्मकै सबैभन्दा ठूलो रकम हो ।
यसरी सहयोग रकम उपलब्ध गराउनेहरुमा तामाङ समाज बेल्जियम ४ लाख रुपैयाँ, तामाङ समाज जापान ३ लाख ७० हजार, तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसान ३ लाख ३२ हजार, तामाङ घेदुङ हङकङ ३ लाख ८ हजार, तामाङ घेदुङ यु.के. २ लाख १ हजार, नेपाल तामाङ घेदुङ बहराईन १ लाख ५२ हजार, नेपाल तामाङ घेदुङ कतार१ लाख २० हजार ३ सय ८४, नेपाल तामाङ घेदुङ साइप्रस १ लाख १५ हजार, मकाउ तामाङ घेदुङ एसोसियसन १ लाख १० हजार र नेपाल तामाङ घेदुङ मलेसिया १ लाख ४ हजार रहेको छ ।
पहिरो गए लगत्तै गाँस र बासको समस्याले पीडित परिवार छटपटाइरहेको बेला साउन ३२ गते नै नेपाल तामाङ घेदुङ इजरायलले सङ्घीय कार्यालयसँग समन्वय गरी १ लाख २६ हजार रुपैयाँ रकम सहयोग उपलब्ध गराएको थियो । उक्त रकम घेदुङको जिल्ला अध्यक्ष रेशम स्याङ्बोले स्थानीय जनप्रतिनिधिको उपस्थितिमा सोही दिन हस्तान्तरण गरिसकेका थिए ।
सहयोग रकम उपलब्ध गराउने संस्थाका अध्यक्षहरुले घेदुङलाई एक सन्देश पठाउँदै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै पीडित परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेको छ । उनीहरुले विस्थापित परिवारलाई तत्काल उचित बासको ब्यवस्थापन गर्न समेत संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
घेदुङमार्फत सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा तामाङ समाज जापानबाट पूर्व उपाध्यक्ष पुजन लामा, तामाङ समाज जापान कित्ताकान्तोका पूर्व सदस्य रविन तामाङ, तामाङ संघ दक्षिण कोरियाबाट तामाङ समाज ख्यङसाङ बुसानका नि. अध्यक्ष विश्वास ब्लोन तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष अस्मिता वाईबा, घेदुङका सङ्घीय सदस्य तथा साइप्रस घेदुङको समेत प्रतिनिधित्व गर्नुहुने सरोजमोहन तामाङ, पूर्व सांसद दावा तामाङ लगायत घेदुङको पदाधिकारी र सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।

Comments

comments