२७ भदौ २०७७
दोलखा । नेकपा निकट राष्ट्रिय युवा संघ, काभ्रेका जिल्ला सदस्य महेश केसीको हाइड्रो पावरमा भएको दुर्घट्नामा परि निधन भएको छ । दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका–५ गुरुम्फीमा निर्माणाधीन हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा भएको दुर्घट्नामा पनौती नगरपालिका–६ काभ्रेका ३१ वर्षीय केसीको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराका अनुसार हाइड्रो पावरको भवनभित्र क्रेनबाट माथि काम गर्न जाने क्रममा क्रेनको डोरी चुँडिएर क्रेनको डब्बासहित तल ढलानमा खस्दा केसीको मुत्यु भएको थियो ।
पैंतिस फिट माथिबाट क्रेनको डब्बासहित केसी तल ढलानमा पछारिएका प्रहरी निरिक्षक बोहराले जानकारी दिए । टाउकामा तथा शरीरका विभिन्न भागमा चोट लागेका उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
लामो समयदेखि माओवादी आन्दोलनमा लागेका केसी तत्कालीन माओवादी केन्द्रको एक शसक्त युवा नेतृत्व रहेको नेकपा जिल्ला अध्यक्ष रुकु चौंलागाईंले बताइन् । उनको निधन असामयिक र अकल्पनिय रहेको बताउँदै पार्टीपंक्तिलाई अतुलनीय क्षति भएको अध्यक्ष चौंलागाईंले जानकारी दिइन् ।
‘हाम्रो पार्टीको अत्यान्तै होनाहर क. महेशको मृत्यु भएको खबरले हामी स्तब्ध छौं । उहाँले पार्टीमा गरेको योगदान अतुलनीय छ ।’ चौंलागाईंले भनिन्, ‘पार्टीलाई अतुलनिय क्षति पुगेको छ । उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्ध परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।