२७ भदौ २०७७
काभ्रे । अखिल नेपाल निर्माण मजदुर संघ, काभ्रेका अध्यक्ष देव लामाले आफ्नो जन्मदिनको अवसरमा विभिन्न रोगबाट पिडीत भएका ३ जनालाई आर्थिक सहयोग गरेका छन् । आज शनिबार विरामी र विरामीको आफन्तहरुलाई भेटेरै अध्यक्ष लामाले आर्थिक सहयोग गरेका हुन् ।
आफ्नो जन्मदिनको अवसरमा अनावश्यक खर्च गर्नुभन्दा थोरै भएपनि असहायलाई सहयोग गर्दा राम्रो लागेकोले विभिन्न रोगका विरामीहरुलाई सहयोग गरेको लामाले बताए ।
दुवै मृगौला फेल भएकी तेमाल–९, पालुघाट, काभ्रेकी रञ्जना तामाङ । उनको उपचार टिचिङ अस्पतालमा भइरहेको छ ।
आफ्नो जन्मदिनको अवसरमा उनले तेमाल गाउँपालिका वडा नं. ९, पालुघाटकी दुवै मृगौला फेल भएकी रञ्जना तामाङ, दुवै मृगौला फेल भएका तेमाल गाउँपालिका वडा नं. २ का भिमबहादुर तामाङ र बाख्रा चराउन जाँदा भिरबाट लडेर घाइते भएका महाभारत गाउँपालिका वडा नं. ३ सोलिघोप्टेका १२ वर्षिय कान्छालाल योञ्जनलाई आर्थिक सहयोग गरेका हुन् । उनले रञ्जनालाई ७ हजार रुपैयाँ, कान्छालाला र भिमबहादुरलाई ५।५ हजारका दर आर्थिक सहयोग गरेका थिए ।
दुवै मृगौला फेल भएका तेमाल–२, काभ्रेका भिमबहादुर तामाङ ।
‘यो सानो र सामान्य सहयोग हो । जन्मदिनको अवसर पारेर अनाबश्यक खर्च गर्नुभन्दा बरु उहाँहरुलाई सकेको सहयोग गरेको हुँ ।’ अध्यक्ष लामाले भने, ‘हाम्रो सानो सहयोगले उहाँहरुलाई सानो राहत त पुग्ला नि ।’
लामा साविक नेकपा (माओवादी केन्द्र), तेमाल गाउँपालिका वडा नं. २ का अध्यक्ष पनि हुन् । लामाले विगतमा पनि विभिन्न समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् ।
सहयोग रकम हस्तान्तरण गर्न युवा समाजसेवी तथा व्यवसायी जगत लामा पुष्प, तेमाल–९ का वडा सदस्य कान्छा लामा लगायतका पुगेका थिए ।
बाख्रा चराउन जाँदा भिरबाट लडेर गम्भिर घाइते भएका महाभारत–३, काभ्रेका कान्छालाल योञ्जन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।