१ असोज २०७७, हेटौंडा ।
बागमती प्रदेश अन्तर्गतका २८ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव संकलन पेटीका राखिएको छ ।
प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्त सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आज स्थानीय तहसंगको सहकार्यमा गुनासो तथा सुझाव संकलन पेटीका राखेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीका अनुसार बागमती प्रदेश प्रहरी अन्तर्गतका १० वटा जिल्लाहरुमा रहेका महानगरपालीका १, उपमहानगरपालीका १, नगरपालीका २५ र सदरमुकाममा रहेका गाउँपालीकामा १ गरी २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखीएको छ ।
नागरिकबाट प्राप्त हुने गुनासो तथा सुझावलाई तत्कालै सम्बोधन गरी प्रहरी सेवालाई प्रभावकारी एवं जवाफदेही बनाउने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले गुनासो तथा सुझाव पेटीका संचालन सम्बन्धी कार्ययोजना २०७७ तयार गरी चरणगतरुपमा प्रदेशभरीका सबै स्थानीय तहको कार्यालयमा सुझाव संकलन पेटीका राख्ने कार्यक्रम तय गरेकोछ ।
कार्ययोजना भएको व्यवस्था अनुसार प्रथम चरणमा सबै महानगरपालीका, उपमहानगरपालीका, नगरपालीका र सदरमुकाम रहेको गाउँपालीका गरी २८ वटा स्थानीय तहमा, दोस्रो चरणमा ७० वटा गाउँपालीका र तेस्रो चरणमा प्रदेश भरीका ८७४ वटा वडा कार्यालयहरुमा समेत गुनासो तथा सुझाव संकलन पेटीका राखिने कार्यक्रम तय गरिएकोछ ।
नागरीक सेवामा समर्पित नेपाल प्रहरीले संगठनको काम कारवाहीलाई ब्यवस्थित तथा जवाफदेही बनाउन नागरीकसंगको सहकार्यलाई अपरिहार्य रहेको मनन गरी कार्यक्षेत्रमा रहेको हरेक प्रहरी कार्यालयहरुमा गुनासो पेटिका राख्ने कार्य धेरै अघि देखि प्रारम्भ गरेको भएता पनि प्रहरीको बिरुद्ध प्रहरी कार्यालयमै गएर गुनासो ब्यक्त गर्नु सहज महसुस नगरेको कारण अपेक्षित गुनासोहरु संकलन हुन नसकेको बिद्यमान अवस्था रहेकोछ ।
यसै बास्तविक्तालाई महसुस गरी बागमती प्रदेश प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रमका प्रमुख सहयोगी स्थानिय निकायसंग सहकार्य गर्दै स्थानिय निकायको परिसरमानै प्रहरीसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन पेटिका राख्ने कार्यको आजबाट बागमती प्रदेशभर सुभारम्भ गरेको छ । नागरिकहरुले पेटीका मार्फत प्रदान गर्ने गुनासो तथा सुझावलाई प्रदेश प्रहरी कार्यालयले हरेक महिनाको १ गते संकलन गरी त्यस्ता गुनासो तथा सुझावको सम्बोधनको लागि प्रदेश प्रहरी कार्यालयमा उजुरी छानबिन शाखा समेत स्थापना गरेको छ ।
यसरी प्राप्त भएका उचित गुनासो तथा सुझावलाई कार्यान्वयन पश्चात सो को जानकारी सम्बन्धीत व्यक्तिलाई हुन प्रदेश प्रहरीको आधीकारीक वेव साईट मार्फत समेत सार्वजनीक गरीने भएकोछ ।
उजुरी पेटीकामा नागरिकहरुले प्रहरी कार्यालय र प्रहरी कर्मचारीको कामकारबाहीका सम्बन्धमा आफ्नो गुनासो, सुझावका साथै अन्य क्षेत्रमा आवश्यक पहलका लागि प्रहरी संग राखिएको अपेक्षाहरु समेत राख्न सक्ने छन । अन्य क्षेत्रसंग सम्बन्धीत रहेका गुनासो तथा सुझावहरुलाई आवश्यक सम्बोधनका लागि सम्बन्धीत निकायमा पठाईने भएकोछ ।
गुनासो तथा सुझाव संकलन पेटीका राख्ने सन्दर्भमा आज हेटौंडा उपमहानगरपालीकाको कार्यालयमा नगर प्रमुख, उपप्रमुख, बागमती प्रदेश प्रहरी प्रमुख लगायतको उपस्थिती रहेको थियो । हेटौडा उपमहानगरपालीकाका नगर प्रमुख हरि बहादुर महतले गुनासो पेटीकामा चाबी लगाई उक्त चाबी प्रदेश प्रहरी प्रमुख बसन्त कुमार लामालाई हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमका प्रमुख साझेदार निकाय स्थानीय तहसंगको सहकार्यमा संचालन गरीएको यस योजनाको सम्बन्धमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले आफ्नो धारणा राखेका थिए ।

Comments

comments