अजितमान तामाङ, उपाध्यक्ष, नेपाल तामाङ ग्हेदुङ
tamang.ajitman@gmail.com
तामाङ नेपालको सबैभन्दा पुरानो जाति एवं समुदायहरु मध्ये एक हो । भारत, भुटान, म्यानमार आदि देशहरुमा सयवर्ष भन्दा अघि देखि ठूलो संख्यामा तामाङ समुदायको बसोबास रहेको पाईन्छ । केही दशक देखि तामाङहरुको युरोपमा समेत स्थायी बसोबास रहेको छ ।
गहुँगोरो, होचा तथा अग्ला कदका आँखाकालो, हँसिलो, रमणीय स्वभावका, इमान्दार, सहासी र मेहनती तामाङहरुलाई मंगोल नश्‍लका मानव वंश तथा अलग भूगोल, भाषा, संस्कृति युक्त जाति (Nation) मानिन्छ । हामी तामाङ जातिलाई तामाङ बाहेकका समुदायले तामाङगोओ, तामाङ, मुल्मी, मुर्मि, लामा, लामाभोटे, भोटे,  सँय्, सँय् जुजु (सैंजु), जाडे, भुटिया, कागते, काठभोटे आदि जातिवाचक नामद्वारा चिन्छन् भने तामाङ आफैले भने हामी १२ तामाङ, वा तामाङ नै भनेर चिनिने स्व-जातीय पहिचान रहेको छ। तामाङ जातिको सांस्कृतिक कानुन, ‘तामाङच्युङनीला ठीम थेन तामछ्योअी’ (जि.डि.लामा, १९८३), १२ तामाङको प्रथा, दस्तुर नै तामाङका विनयहरू हुन्। यसको समग्र अर्थ राज्य वा राष्ट्र र तामाङको पहिचान शक्ति हो। ताम्बाकाअीतेनमा यो १२ तामाङको सांस्कृतिक शक्ति (Cultural power) लाई “१२ तामाङला काअी थेमा; योल्मो गाङला क्युअी लीङमु.”(पाख्रीन) भनिएको पाइन्छ। यो पङ्ति १२ तामाङ संघात्मक राज्यशक्तिको व्याख्यान हो।
तामाङ राष्ट्रका विभिन्न समुदायिक सांस्कृतिक इतिहासले पूर्व सोभियत संघ, क्रिजिकिस्तान, रसियाका विभिन्न राज्यक्षेत्र देखि, मंगोलीया र चीनको गोवी मरुभूमिसम्म फैलिएका आल्टेअी पर्वत श्रृंखलाको मैदान हुँदै महाचीनको उत्तर–पश्चिम व्हाङ्हो (व्हाङखःपहेँलो) नदिको (थ्वीन्डेल, १९७६, र मोक्तान वंशावली, २००८) क्षेत्रलाई उदगम स्थल देखाएका छन्।
यहाँबाट पामीरको उच्च–समस्थली, विश्वको छानो (roof of the world) हुँदै; तिब्बती दक्षिणको पश्चिम; ट्रान्स–हिमालयन मनोरम मैदानको सांस्कृतिक सभ्यता स्याङस्युङ (…स्याङस्युङ युलसारी स्याङबो बाब….), गुगे, पुराङ (ताक्लाकोट, पुराङच्यातरी/चेतरी पाख्रीन बाब), चाङ (सीचाङ, गीचाङ, वुचचाङ), छोङदी (हाल चिनिया तिब्बतको ङारी) हुँदै हाल नेपालको हुम्ला, जुम्ला हुँदै मुगुको मुगुग्याल्सा (मुगुग्याल्सारी मोक्तान बाब), मुस्ताङको पुराङ, मनाङको ब्राका आदि स्थानबाट वर्तमान तामाङभूमि ताम्सालीङ आइपुगेको ऐतिहासिक वृतान्त प्राचीन तामाङ साहित्य, जीक्तेनतामछ्योइ तामाङ वंशावलीहरु, तामाङ खगोल संस्कृति, तामाङको वंश कुल–कुलायन संस्कृतिका “खेप्पा स्होङ (खेप्पासुङ)” र “म्हेमेदाङ (तामाङ, २००८)” र “ल्हादाङ” आदि बृतान्तहरु, र प्रगैतिहासिक पुरातात्वीक अन्वेषणबाट प्राप्त तथ्यहरुले तामाङ जातिको ठुङसा (The Place of Orign), बाप्सा (The Place of Migration) र केसा (The Place of Birth) को सांस्कृतिक अध्ययनबाट देखिन आएको छ (तामाङ,२००२) ।
तसर्थ तामाङजाति (नेसन) अर्थात् राष्ट्रको निर्माणका सन्दर्भमा तामाङ शब्दको निर्माण तथा उत्पत्तिका बारेमा रसिया तथा आसपासका राज्यहरु, मंगोलीया तथा चीनका प्राचीन राजनैतिक, भौगोलिक वस्तुस्थिति र भाषाको विकास र फैलावटका भाषावैज्ञानिक विश्‍लेषण आदिका आधारमा तामाङ शब्दको विकास र प्रयोग चिनिया मंगोल अर्थात् चीनका “महान युआन साम्राज्य” अर्थात् “महान मंगोल” साम्राज्यको जनाउन दिने ‘तामाङ्गुओ’ (大元朝大蒙古国 The Great Mongol Nation of Great Yuan Dynasty) संरचनाको (तस्विर-१; हेर्नुहोस्) संज्ञाबाट व्युत्पत्ति भइ तामाङ राष्ट्रवाचक संज्ञा जस्तै अरू शब्दहरू पनि तामाङभाषामा पाइएका छन्। निकटतम थुप्रै आधारहरु भेटिन्छ ।
तामाङ जातिवाचक तथा राष्ट्रवाचक संज्ञाः
तामाङ शब्दको मूलरुप चिनिया–मंगोल भाषाका Ta-mang-Guo तामाङगुओ शब्दबाटै तामाङ शब्दको आजको रुप, जातिवाचक र राष्ट्रवाचक संज्ञा शब्द हो। “तामाङ” शब्दको निर्माणको बारेमा ऐतिहासिक–भाषावैज्ञानिक अध्ययनले थप पुष्टि गर्दछ । यो तथ्यलाई माथि उल्लेखित तामाङ उदगम, बसाइ–सराइ र जन्मभूमि (ठङुसा, बाप्सा र केसा) को श्रृंखलावृतान्तले पनि पुष्टि गर्दछ ।
तस्विर-१ ‘तामाङ्गुओ’को नक्सा (Map of The Great Mongol Nation of Great Yuan Dynasty)
तामाङभाषा चिनिया एकाक्षेरी (Mono-syllabic) परिवारको तानयुक्त भाषा हो। हालको ‘तामाङ’ शब्दको रुप तामाङ दुई वटा एकाक्षेरी शब्दहरुको संयोजनबाट निर्माण भएको पाइन्छ। यसैलाई वैज्ञानिक आधार बेगर नै काल्पनिक कथा-रचेर तिब्बती भाषाको ‘र्ता’(རྟ) घोडा र ‘माग’ (མག་) सैन्य बुझाउने ‘र्तमग’ बाट व्युत्पति भइ तामाङ शब्दको निर्माण भए भन्ने आधारहिन र कूतर्क प्रस्तुत गरेको पाईन्छ। भाषावैज्ञानिक आँखाले नियाल्दा यो कुरा ऐतिहासिक–भाषाविज्ञानको सिद्धान्तसँगत् तर्कसम्मत छैन। अर्को स्वयं तामाङ समुदायले तिब्बतलाई बेग्लै बोद ग्याल्सा प्रदेश वा युल्सा राज्य भनेर सम्बोधन तथा व्यवहार गरिनु आदिले तामाङहरु तिब्बती र्तमक/र्तमग वा र्तामाग अर्थात् तिब्बती घोडा चढी सैन्य वा रिसल्ला सेना होइन भन्ने स्पष्ट छ। अर्को कुरा अहिलेसम्म प्रकाशमा आएका तिब्बती, चिनिया तथा नेपालको इतिहासको कुनै दस्तावेज, मौखिक या लिखतमा प्रमाणित तथ्यमा तिब्बतका घोडाचढि सेना यतैतिर बसे, यतै घरजम गरेका तथ्य भेटिएको छैन। बरू हाम्रा पुर्खाले उपयोग गरि राखेको घाँसेमैदान अचेल उतातिर परिराखेको हामीलाई थाहा छ। तसर्थ तामाङ (ཏ་མང་) शब्द तिब्बती घोडाचढि रिसल्ला र्तमक(རྟ་མག་) बाट निर्मित भएको भन्ने तर्क र भनाई झुटो हो। नागरीलिपिमा “ताम्बाकाअीतेन व्हाअीरीमठीम”का लेखक सन्तबिर लामा(पाख्रीन)ले सन १९५६ मै प्रस्तावनामा हामी तामाङ तिब्बती घोडाचढिको अर्थ दिने र्तमगबाट तामाङ भएको होइन भनेका छन्। पाख्रीनले भने जस्तो ‘भोटको इतिहासमा र्तमग बाट तामाङ भएको लेखेको छ’ भन्ने अनुमान मात्र हो। भोटको इतिहसमा यो विषय कतै उल्लेख छैन। यो र्तमग र तामाङ दुइ शब्दहरू उस्तै समरूप जस्तो देखिने भएकाले यो अनुमान गरिएको मात्र हो।
नेपालका भाषाहरूको विवरणमा इथ्नोलग र एसआइएल पनि तामाङभाषाको भाषिका पूर्वीय तामाङभाषाको परिचयमा र्तामग (རྟ་མག་) लेखिएको छ। यो गलत हो भन्ने सुझाब यी विश्‍वभर विभिन्न उद्देश्यलिई भाषाका अन्वेषण गर्ने यी संस्थाहरू (इथ्नोलगएसआइएल) लाई हामी तामाङ समाजले तत्काल सच्याउन सुझाव दिन जरूरी छ।
मुक्तिनाथ क्षेत्रको १२ मुस्ताङमा पनि तलतिरको तामाङहरू भन्ने उल्लेख भएको पाइनु, मुस्ताङका थकाली जातिभित्र तामाङ-थकाली पनि रहनु र मुस्ताङमा इतिहासको कालखण्डमा हालको चिनिया तिब्बतका ङारी तथा लादाखीहरूले शासन गरेका समयमा पनि र्तमग (རྟ་མག་) हरू तिब्बततिरबाट यता नेपाल आएर बसेका हुन् भन्ने कतै उल्लेख गरिएको पाइन्दैन। तत्कालीन याम्बु या बालयुल अर्तात् नेपाल उपत्यकाबाट तिब्बतको ङारीमा थाङ्का चित्रहरूमा मण्डला लेख्ने परम्परा गएको कुरा तिब्बती थाङ्का पेन्टिङको इतिहासमा उललेख छ (ज्याक्सन, १९९६)।
तिब्बती इतिहासका मुलश्रोतहरू मध्ये नेपालमा उपलब्ध हुने पुस्तक “माणिकाबुम” हो, र अर्को ग्रन्थ “बोइक्यी ल्होर्ग्यु दुअीसाल मेलोङ”(བོད་ཀྱི་ལོ་རྒྱུས་བ་སྡུས་གསལ་མེ་ལོང་) आदिमा पनि कतै पनि उल्लेख गरिएको छैन। यओ इतिहासका स्रोत ग्रन्थहरूमा नेपालका राजा होअीगोछा (अंशुवर्मा), राजकुमारी ठीचुङ (भृकुटी), गुरु पद्मसम्भवसँग सम्बन्धित नेपाल विभिन्न स्थानको वर्णन गरिएको पाइन्छ र अन्य विषयहरू उल्लेख गरेका छन् तर र्तमग (རྟ་མག་) को बारे छैन।
त्यसैगरी तिब्बतको बौद्धधर्मका बिरोधी राजा लाङदार्माको हत्या गर्ने लालुङपाल दोर्जे नेपालको सिमाना नजिक क्यिग्रोङ भन्दा अलि माथि माङयुलको जोङखाक्षेत्रमा आएर बसोबास गरेको उल्लेख छ। तर नेपालमा चिनिया सिमाना नजिकको रसुवा र अनेत्र लुङबा थरका तामाङ भने पाइन्छ। तर तामाङ लुङबाहरूको सम्बन्धमा कतै लालुङपालका सन्नति पो हुन कि भने पनि यसका आधार खोज्न सकिन्छ तर यसबारे जानकारी तथा सूचनाहरू आजका दिनसम्म भेटिएको छैन।
 त्यस्तै मुस्ताङ तथा रसुवाका तामाङ गाउँमा पाइने स्थानीय इतिहासका स्रोत बीमछ्याग तथा ह्राबहरूमा समेत कहीँ-कतै र्तमग विषयमा नलेखिनु आदि कारणले यो भ्रम सृजना गर्ने र नेपाल तामाङहरू सातौं शताब्दी तिर तिब्बततिरबाट आएका भनेर; तामाङहरूको पाँचहजार वर्षभन्दा लामो यो भूमिसँगको सम्बन्धलाई अलग्याएर यिनीहरू तिब्बतका भोटे हुन भनेर ऐतिहासिक तामाङ पहिचानलाई कमजोर पार्न र तामाङ जातिको यसभूमिमा अज्ञातकाल देखि बसोवास गर्दै आएको आदिवासीय आदिम गौरवशाली इतिहासलाई अवमुल्यन गर्नु खोजिएको देखिन्छ।
नेपालका भोट-बर्मेली भाषापरिवार तथा तराईका थारू समेत सबै समुदाय हामी मंगोल हौं भन्ने स्वतस्फूर्त व्यक्त स्वभावना र दावीलाई हाम्रो शारीरिक बनोट आदि कारणहरूबाट ‘महान मंगोल नश्‍लीय वा जाति वा राष्ट्र” बुझाउने “तामाङगुओ” शब्दको व्युत्पत्तिबाट “तामाङ” शब्दको निर्माण भएको हो। हाम्राभाषाका भाषिक ऐतिहासिक व्युत्पत्तिको प्रकरणको अध्ययन गर्दा यस व्युत्पत्तिका आधारलाई थप पुष्ट्याइदिने थुप्रै उदाहरणहरू पाईन्छ। केही प्राचीन तथा ऐतिहासिक शब्द निर्माणको यस्ता व्युत्पत्तिकाधार निम्नानुसार रहेको पाइन्छ।
शब्द निर्माणमा प्राकृतिक व्युत्पत्तिको सिद्धन्त
‘तामाङ’ जातिवाचक संज्ञा अर्थात् राष्ट्रवाचक संज्ञाशब्द हो भन्ने बुझ्न र यस शब्दको निर्माणका ऐतिहासिक–भाषावैज्ञानिक तर्कको थप तार्किक पुष्ट्याइका लागि तामाङभाषाको काठमाडौं उपत्यकालाई बुझाउने प्राचीन र ऐतिहासिक स्थाननाम तथा राष्ट्रवाचक ‘याम्बु’ शब्दको विश्‍लेष्णात्मक अध्ययन तर्कसंगत र अपरिहार्य ठानिएको छ।
विशेष गरेर भाषाका प्राकृतिक संरचना र स्वरूपका निर्मितिका आधारमा हेर्दा चिनिया-तिब्बती-बर्मन एकाक्षरी परिवारका भाषाहरूमा प्रायः लामो अर्थात् ठूलो रुप भएका शब्दहरुबाट त्यही अर्थदिने छोटा र सानो संरचनामा छोटिएर प्रयोग हुन आएको थुप्रै प्राकृतिक व्युत्पत्तिको सिद्धन्तका आधार र उदाहरणहरू पाइन्छ।
उदाहरणका लागि स्वयम्भू पुराणमा उल्लेख भएको कथनलाई इतिहासकारहरू पौराणिक मात्र मान्छन् तर यो पौराणिक मात्र होइन ऐतिहसिक नै हो। किनभने यहाँको आदिवासी अर्थात् अज्ञातकाल देखिका सांस्कृतिक र ऐतिहासिक भाषिक विकासको क्रमले पुष्टि गर्दछ। आदिम बासिन्दाहरू तामाङ, नेवार तथा हिमालयका चिनिया-तिब्बती-बर्मन परिवारका भाषाहरूको शब्दनिर्माण तथा अर्थकोनिर्माण संस्कृतभाषामा जस्तो सृजना गरिएको कृतिम सुत्रात्मक होइन प्राकृतिक र प्रकृयागत वैज्ञानिक मुल्य र मान्यतामै निर्मिति भएको पाइन्छ।
उदाहरणका लागि स्वयम्भू पुराणका पाठको मुलभावहरूको विश्‍लेषण गरी हेरौं। आजको काठमाण्डौ उपत्यका अज्ञातकालमा पानीको तलाउ थियो। जसलाई संस्कृतभाषामा नागह्रद वा नागदह उल्लेख छ। यो नागह्रदको आदिवासी तामाङ, नेवार, शेर्पा, योल्मो, मुगाली, डोल्पाली आदि हिमाली बौद्ध समुदायको शास्त्रीय भाषामा यसको नाम ‘छो-ङ्याम्बु, ङ्याम्बु ग्योही’ वा ‘ङ्याम्बु ग्य्होअी’ ‘ङ्याम्पुः/ङ्यापुखु हुन्छ।
यही ङ्याम्बु (नाग) रहेको तलाउको पानी महाचीनबाट आउनुभएका महामन्जुश्रीले आफ्नो प्रज्ञारूपि खडगद्वारा पर्वत काटी जल निकास गरी सुकाइ बस्न योग्य भूमि वा जमिनको निर्माण भएको बताइएको छ (शाक्य, २००१)। यो उपत्यकामा पहिले तलाउ रहेको कुरोलाई यहाँको आजको भौगर्भिक भूवनोटको अध्ययनलाई कसैले नकार्न सक्ने अवस्था छैन्, र तलाउ भएको पुष्टि हुन्छ।
यही ङ्याम्बुग्योअी (नागह्रद) तलाउ सुकेपछिबाट निर्माण भएको जमिनलाई ती नै ङ्याम्बु नागराजसँग जोडिएर साङ्याम्बु तथा सायाम्बु,‍(सा+ङ्याम्बु=साङ्याम्बु र सायाम्बु) शब्दहरूको निर्माण प्राकृतिक अर्थमा नै भएको देखिन्छ। अर्थात् नागराजसँग जोडिएर यो तलाउको पानी सुकेर निर्मित भूमिको नाम यहाँ सायाम्बु वा साङ्याम्बु अर्थात् ‘नागभुमि” प्राकृतिक रुपको शब्दार्थमा निर्मिति भएको छ। यो ‘नागभूमि’ सायाम्बुबाट नै यससँग सम्बन्धित थुप्रै शब्दहरूको निर्माण तथा व्युत्पत्ति भइ आरम्भको काल देखि आजसम्म निरन्तर जीवन्त प्रयोग गरी आएको छ।
यही साङ्याम्बु शब्दबाटै स्वयम्बुस्वयम्भू शब्द निर्माण भएका हुन्। तामाङभाषामा स्वासा ध्वनी या स्वनिमहरूको उच्चारण भेद देखिए पनि अर्थभेद छैन। वास्तवमा ‘स्व’ शब्दको हाल संस्कृतभाषाकृत रूप ‘स्वयम्’ वा ‘आफैं’ हो। तर यहाँका आदिवासी तामाङभाषा, र नेवार नेपालभाषामा ङ्याम्बु-छो (नाग-ह्रद) बाट निर्मित भूमि वा राष्ट्रवाचक संज्ञाशब्दको त्यो धातुरूप स्व, स्वा, स, सा,चा हो; यस धातुले यहाँका तामाङ, नेवार तथा आदिवासीय स्थानीयभाषामा भूमि वा माटो लाई बुझाउँछ। त्यसैगरी ‘ङ्याम्बु’ को ङाम् वा ङाङ्याम् वा ङ्य  ले जलचर, माच्छा, नाग, र पानी भन्ने बुझाउँछ। प्रत्येय ‘-बु‘ को अर्थ बास स्थान, बस्ती वा घर अर्थात् थाकथलो, र उर्बर, पानी पर्याप्‍त उपलब्ध हुने,  उच्चकोटिको भूमि भन्ने हुन्छ।
तसर्थ तामाङभाषाको यो प्रत्येय वा फुँदा वा सर्ग जोडिने प्रत्येक शब्दले यहाँका तामाङ लगायतका आदिवासीका भाषाहरूमा प्राचीन सभ्यताका केन्द्रको जनाउ तथा संकेत गरेको हुन्छ। जस्तैः याम्बु, लुबु, बलम्बु, खुसीबु, सलम्बु, थार्बु, म्हार्बु, सैंबु, गोंगबु, थसीबु, दथुबु, लुम्बु, दोल्बु, आदि स्थाननामहरू। यी नामका आधारमा मात्र त्यस्थनको ऐतिहासिक पक्षहरू गहिरिएर खोजी गरेमा; यी सबै स्थानहरूको कुनै-न-कुनै अर्थ, र रूपबाट सांस्कृतिक, पुरातात्त्वीक, र ऐतिहासिकता सँग जोडेका केही न केही आधारहरू अनिवार्य प्राप्‍त भएकै हुन्छ। यस्ता स्थानहरूले जाति समुदाय विशेषको मानव विकासको ऐतिहासिक घटाना र महत्व बोकेकै हुन्छ। भाषाका शब्द निर्माणका यो रूप ऐतिहासिक भाषाविज्ञानका प्राकृतिक व्युत्पत्तिको सिद्धन्त भन्न सकिन्छ। यसमा शब्दको व्युत्पत्तित रूप शुरूको प्राकृतिक निर्मितिय अर्थगुण अक्षुण्ण रहेको हुन्छ।
यस्ता शब्द निर्माणका प्राकृतिक सिद्धान्त उत्पत्ति, विकास तथा सभ्यतासँग प्राकृतिक निर्मितिका शब्दहरू प्रत्येक समुदायका सजातीय भाषासमूहका मूलभाषाहरू रहेको पाइन्छ। थप उदाहरणका लागि मगरातका मगर समुदायको भाषामा हुने -बाङ/वाङ प्रत्येय (थबाङ, लिबाङ, बुर्तिबाङ, भालुबाङ आदि),  तराईका थरूहटका थारू समुदायको भाषामा प्रयुक्त हुने -हवा (भैरहवा, कोइलीहवा, सगरहवा, निग्लिहवा, गोटिहवा, पकलिहवा, तौलिहवा, धमनिहवा आदि), तराई-मेधेसका भोजपुरी भाषाका -गञ्ज प्रत्येय (नेपालगञ्ज, बिरगञ्ज, बाहादुरगञ्ज, अमलेखगञ्ज आदि), मध्य-पहाडी, हीमाली तामाङ, योल्मो, शेर्पा, तिब्बती भाषाका -चे/च्यात/च्येत प्रत्येय (नाम्चे, स्याङबोचे, राम्चे, थाङमाचे, सीगात्चे, ग्याङ्चे, पुराङ्चे आदि), -लुङ प्रत्येय (साअीलुङ, मैलुङ, तौलुङ, चोमोलुङ, कीमालुङ, साम्बालुङ,) आदि।
नेपालका हामी तामाङ तथा आदिवासीयहरूको भाषामा लामो ऐतिहासिक कालखण्ड देखि प्राकृतिक अर्थ शब्दका व्युत्पत्ति पछिका शब्दरूपमा उही अर्थमा निरन्तरता कायम रहेको हुन्छ। जस्तै याम्बु स्थान नामशब्दको व्युत्पत्तिका विभिन्न स्वरूपहरूमा शुरूको प्राकृतिक संकेतक अर्थसँग सम्बन्धको निरन्तरता रही रहेको पाइन्छ। यहाँ ‘याम्बु’ शब्दको ‘याम्’ धातुको शुरूको मूलधातु रूप ‘ङ्या सँग सम्बन्ध नागह्रदको जलचर, नाग, माच्छा, र पानी बुझाउने प्राकृतिक अर्थको निरन्तरता कायम नै रहेको छ।  काठमाडौं उपत्यकालाई बुझाउने यो याम्बुसँगै आउने शब्दहरूलाई हाम्रा इतिहासका काल निर्धारकहरूले कथित किरातकाल वा लिच्छविकालका अर्थ अस्पष्ट, अज्ञात अर्थका भनि सही व्याख्यान भने गरेको भेटिन्दैन।
याम्बु लगायतका प्राचीन शब्दहरू स्थानीय आदिवासीभाषामा आजका दिनसम्म जस्ताको तस्तै त्यही अर्थमा प्रयोग गरीरहेका छन्। कामाडौं उपत्यकामा भेटिएका प्राचीन अभिलेखहरूमा यस्तो तामाङभाषाका शब्दहरूलाई नेपाली इतिहासकारहरूले व्याख्यानको मुख्य आधार शासकीय संस्कृतभाषा केन्द्रित हिन्दू वैदिक साहित्यलाई बनाउँदा विश्‍लेषण सही भयो भन्न सकिने अवस्था छैन। यसकारण नेपालको इतिहासका कयौंपाटाहरू फेरि लेखिनु पर्ने आवश्यकताको महशुस गरिएको छ। तामाङ, योल्मो, शेर्पा, दोल्बु आदि हिमालय क्षेत्रको जनताको जीब्रोमा अझै जीबन्त प्रयोगमा रहि रहेको शब्दको राज्यसंयन्त्रमा भने याम्बु शब्दको प्रयोग मृत एवं बिलिन गराइएका छन्।
ङ्याम्बु मूलबाट निर्माण भएका शब्दहरू हेरौं, काठमाडौं भित्र पाइएका पुराना अभिलेखहरूमा कुँदिएर रहेको शब्दहरू याम्बुब्रुम, याम्बुब्रुमया आदिबाट याम्बुक्रोमा, याम्बुक्रमा, याम्बुकोर्मा र याम्बुमहानगरे, यम्बुनगर (रेग्मी, १९९४) आदि रहेका छन्। यी नै शब्दहरूको आजको व्युत्पत्ति रुप याम्बुयाम्बुबाट यँ (नेवारी, नेपालभाषामा) प्रयोग भइ रहेको शब्द हो। यो तथ्यलाई ऐतिहासिक–भाषावैज्ञानिक व्युत्पत्तिका सैद्धान्तिक मुल आधार मान्न सकिन्छ। यहाँ मूल र ठूला रूपका तामाङभाषाका शब्दहरु कालान्तरमा हुने व्युत्पत्तिक्रममा छोटो शब्दको निर्माण हुने र  प्रयोग भइ रहेको पाईन्छ।
थप उदाहरणका लागि हालको भक्तपुरलाई पहिले तामाङभाषामा ‘खोप्रीङ’ (“…खोप्रीङनाङला थाङसीङला दोङ….” भन्ने प्रसंग पाइन्छ), र खोप्रीङबाट ‘खोपोङ’ तथा ‘खोपाङ’ हुँदै अहिले स्थानीयभाषामा ‘खोप’, ललितपतनबाट पातन वा पाटन यस्तै यहि स्थाननामको शास्त्रीय तामाङभाषामा यार्लुङ बाट यराङ वा हेराङ हुँदै आजको रुप ‘यल’ (नेवारभाषामा) हुन आएको पाइन्छ। यस्तै काठमाण्डौ उपत्यका भित्र विहार(गोन्पा)लाई बुझाउने बाहाल बाट बहाःबाहिलबाट बहीः, चोबाहाल बाट चोबाहाचोभार स्थाननामको व्युत्पत्ति भएको उदाहरणहरु पाईन्छ।
 यही बाहालबहीलको देश भएकाले बाहालयुल बाट बालयुल बाट अहिले बायुल भनिन्छ। तिब्बतका सातौं र आठौं शताब्दीताकाका अभिलेख ग्रन्थहरू नेपाललाई बालयुल उललेख गरिएको पाइन्छ। यही बालयुल निवासी भएको कारण तिब्बतमा भृकुटीलाई बेल्साख्रीचुङ(तिब्बतीमा ख्र को उच्चारण हुने भएकाले ठीचुङ) ཁྲི་བཙུན་ यसको तिब्बती शब्दार्थमा བཙུན་མོ་སྤྱི་ལ་འཇུག་ཀྱང་། སྒོས་སུ་སྲོང་བཙན་སྒམ་པོའི་བཙུན་མོ་བལ་བཟའ་ལ་སྦྱོར་རོ། (the Nepali queen of the king Songtsen Gampo) यस वाक्य चुन्मो बालस्ह्या को अर्थ बाहाल देशकी रानी भनिएको हो। यस अघि नेपाली इतिहासकारहरूले बाललाई राष्ट्रवाचक शब्दको तिब्बती प्रयोगलाई नेपाल राष्ट्रलाई बुझाउने अर्थलाई लिन र व्याख्या गर्न चाहेन जबकि तिब्बतीमा नेपाललाई नै बुझाउने अर्थमा यो देशवाचक शब्दको रूपमा प्रयोग गरिएको छ। नेपालमा भने बाल को अर्को उन बुझाउने अर्थलाई ल्याएर उनको घर भनि देशवाचक पुष्टि नहुने अर्थको अनउपयुक्त अप्रासांगिक अर्थ दिने शब्दको छनोट गरी इतिहासमा गलत तर्कलाई अघिसारी भ्रम फैलाईएको थियो। किन कि उन नेपालबाट(काठमाणडौंबाट) तिब्बत जाने होइन, तिब्बत वा उच्च हिमाली क्षेत्रतिरबाट आउँथ्यो।
तसर्थ, माथिका उदाहरण सहितका शब्द निर्माणका विश्‍लेषणहरूले तामाङभाषामा शब्द निर्माण हुँदा व्युत्पत्तिका क्रममामा लामो शब्दबाट कालान्तरमा सानो स्वरूपको बन्दै जाने र उही अर्थ दिन्छ भन्ने बोध भएका छन्। यसरी नै मंगोलियन चिनिया हान भाषामा ता–माङगु dà ménggǔ guó 大蒙古国  महान–मंगोल–राज्य को अर्थ दिन्छ र चिनियाहरूले यो महान मंगोल राज्यको बादशाहलाई आफ्नै भाषामा ‘ता–युआन” (महान युआन वंश वा साम्राज्य; यहाँ युआनको अर्थ मंगोल राष्ट्र/साम्राज्य हो) ले  चीनको इतिहासमा महत्वपूर्ण स्थान ओगटेको पाईन्छ। मंगोल सम्राट विश्व-विजेता चन्गेज खाँ तथा कुब्लाइ खाँहरुको राज्यकाल सम्म पनि यो बृहत्तर राष्ट्र ता–माङ–गुओ अर्थात् ‘महान मंगोल राष्ट्र’ (The Great Mongol Nation) यहाँ (dà ménggǔ guó, 大蒙古国  यहाँ ‘ता’ dà=Great महान, माङ्ग्गु ménggǔ=Mangol मंगोल, र गुओ gou=Nation राष्ट्र हो) तामाङगोओ जातिवाचक र राष्ट्रवाचक अर्थ दिने संज्ञाको रुपमा रहेको पाइन्छ।
मङगोल तथा चिनिया हान भाषामा ‘मङगोल’ शब्द वंश वा जातिबाचक हो भने ‘गुओ’ शासित वा नियन्त्रणमा रहेको राजनैतिक भूगोल वा राज्य हो। यहाँ ‘ता’ एकाक्षरी शब्दले महा वा महान भन्ने अर्थ दिने ‘मंगोल’ वंश वा जाति र ‘गुओ’ राज्य वा देश वा भूगोल बुझाउन प्रयोग गरिएको शब्द हो । तसर्थ यो तामाङगोअु जातिवाचक अर्थात् राष्ट्रवाचक शब्द भएकाले ऐतिहासिक–भाषाविज्ञानका व्युत्पत्तिका सिद्धान्तले तामाङ्गुओबाट तामाङ जातिवाचक तथा राष्ट्रवाचक शब्दको निर्माण भएको स्पष्ट हुन्छ। तामाङ शब्दले जहाँ एउटा छुट्टोभाषा, धर्म, संस्कृति सहितको वृहत्तर तामाङराज्य ताम्सालीङ भूगोल बुझाउँछ। तसर्थ तामाङ शब्द राष्ट्रवाचक अर्थात् जातिवाचक संज्ञा हो। यो जात वा Clan होइन जाती अर्थात Nation हो। त्यसकारण यो भ्रम नहोस् की, नेपालमा तामाङ, खस, नेवार, मगर, गुरूङ, राई, लिम्बु आदि जात होइन जाती वा राष्ट्र अर्थात् Nation हो, राष्ट्र हो जसको आफ्नो छुट्टो भूगोल सहितको मौलिक भाषा, धर्म, संस्कृति रहेको हुन्छ र छ।
तामाङ शब्दको बारेमा भन्नै पर्दाः
तामाङ शब्दको निर्माण तथा व्युत्पत्तिका सन्दर्भमा भ्रमपूर्ण र पुष्टि नभएको तर्क तिब्बती राजा स्रङचाङ गाम्पोको घोडाचढी रिसल्ला र्तमग (རྟ་མག་) भएकाले तामाङ भनिएको तिब्बती राजकीय इतिहासमा कतै पनि उल्लेख नगरिएको विषय माथिनै चर्चा गरि सेका छौं। हाम्रो इतिहासका स्रोत जीक्तेन तामछ्योअीका, ल्हा-छ्योअी, म्हीछ्योअी, तामाङका फाह्राप, दोङह्राप, मुस्ताङका थकाली तामाङहरू तथा रसुवाका तामाङ गाउँमा रहेका ‘बीमछ्याग” तथा ‘ह्राब’ हरूमा र्तामग (རྟ་མག་) को बारेमा उल्लेख छैन।
नेपालमा अज्ञातकाल देखि बसोवास गर्दै आएका सबैभन्दा पुरानो जाति र समुदाय तामाङहरूलाई सातौं शताब्दी तिर आएका भनेर; तामाङहरूको पाँचहजार वर्षभन्दा लामो यो भूमिसँगको निरन्तरको सम्बन्धलाई अलग्याएर तिब्बतका प्रवासी भोटे हुन भनिनु इतिहास विहिन बनाउने कुत्सित प्रयास र तामाङ पहिचानलाई कमजोर पार्ने र तामाङ जातिको गौरवशाली इतिहासलाई अवमुल्यन गर्ने भ्रामपूर्ण प्रचार मात्र हो।
नेपालमा तामाङ मात्र होइन; तराईका थारू लगायत भोट-बर्मेली भाषापरिवारका सबै समुदायले हामी मंगोल हौं भनि स्वतस्फूर्त व्यक्त स्वभावना र उनीहरूको शारिरीक संरचना र बनोट आदिले मंगोल नश्‍लका दावी गरी आउनु आदि तथ्यहरूले पनि तामाङ राष्ट्रवाचक शब्द ‘महान मंगोल जाति वा राष्ट्र” बुझाउने “तामाङगु गुओ” शब्दको व्युत्पत्तिबाट “तामाङ” जातिवाचक तथा राष्ट्रवाचक शब्द निर्माण भएको हो भन्ने टुंगोमा पुग्न सकिन्छ।
तामाङ राष्ट्रवाचक शब्दको पक्षमा तामाङका पुर्खौली कथनका मुल वृतान्त ठङुसा–बाप्सा–केसाका वृतान्त ठुङह्राब–दोङह्राब–केह्रापको सैद्धान्तिक व्याख्यान, तामाङ खगोलिय तथा भाषावंशिय वितरणका संरचना आदि ऐतिहासिक–सांस्कृतिक तथ्यहरुले हामी महान मंगोल राष्ट्र बुझाउने तामाङगोअु शब्दबाट नै हामी तामाङजातिहरुको जातिवाचक र राष्ट्रवाचक अर्थानुभूति बुझाउने संज्ञा तामाङ शब्दको निर्माण भएको हो। तिब्बती भाषामा ཏ་ ‘ता” शब्दको अर्थ महान/विशाल हो। माङल शब्द मंगोल बुझाउने माङ्गुकै व्युत्पत्ति रुप हो। मंगोल नश्‍लका हो भन्ने बहुसंख्यक आदिवासीको चित्त देखिको दावी र ठम्याई छ। अहिले पनि नेपाल र भारत समेत हामी तामाङहरू अरू हिमालीय बौद्ध आदिवासीसँगको तुलना गरि हेर्दा जनसंख्या ठूलो छ। हाम्रो संस्कृतिमा छुवाछुत छैन, हामी आफू भित्र कुनै पनि थरहरूका बिचमा सानो र ठूलो भौदभाव छैन त्यकारण तामाङ हामी महान छौं।
म्हेमेदाङ र ल्हादाङ अर्थात् तामाङ कुलकुलायान, कुलाचारका विधि, अनुष्ठानहरुले मंगोल नश्‍लका पेकिङ मानव-सभ्यता, आल्टेअी पर्वत श्रृंखलाका रसिया, काजकिस्तान, क्रिजक्ष्किस्थान, महाचीन चिनको पहेँलो नदी झेकोग जेनीङ ह्वाङहो खोर्सो, मंगोलिया, भित्री मंगोलिया, प्राचीन गोवी मरुभूमिका आसपास देखि दक्षिण पश्चिम तिब्बतको स्याङस्युङ, गुगे, छोङदी ङारी आदि सतौं शताब्दी पहिलेका तामाङहरू ठुङसा, बाप्सा, केसा भएको वृतान्त भएको बताएका पाइन्छ। यी वृतान्तहरूमा तिब्बतका स्रङचाङ गाम्पोलाई कतै उल्लेख नै छैन।
तर महान मंगोल राजनीतिक भूगोलले तामाङ मौलिक संस्कृति र सभ्यताका सम्बन्ध रहेका, प्राचिन गुगे, छोङदी, पुराङ (आजको ताक्लाकोट क्षेत्र), पुटाङ, मुगु, मनाङ स्थित ब्राका, ल्हाङबो गाङ (ल्हाप्साङकार्पो) हुँदै आजको ताम्सालीङ सम्म आई पुगेको तथ्यहरुले देखाएको छ।
त्यसकारण तामाङ जातिवाचक शब्द स्राङचाङगाम्पोका घोडाचढि सैन्य दस्ता ‘र्तामाग’ (རྟ་+མག=རྟ་མག=horse+Army=horse rider Army) होइन। तामाङ जाति महान मंगोल वंश/जाति तथा राष्ट्र बुझाउने, ‘तामाङ’ (ཏ་+ མང་= ཏ་མང་, Great+Manguo=The Great Mongol Nation)) हो। तामाङ जाति/राष्ट्र जनाउन हामीले तामाङ लेख्‍नु पर्छ। तामाङ्ग, तमङ, र्तामाङ, या རྟ་མང་ होइन; तामाङ ཏ་མང་ लेखौं लेखौं।
(लेखकः नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका पूर्व-कार्यकारी निर्देशक (२००७-२००८) तथा लुम्बिनी विकास कोषका निवर्तमान सदस्य-सचिव (२०१२-२०१७) हुन्।)
वर्क साइटेड
टासी, छेतेन र अन्य, सम्पादित, बोइक्यि ल्होर्ग्यु दुइसाल मेलोङ, बोइ जोङ मि माङपे कुनखाङ, चीन, २०१४/བོད་ཀྱི་ལོ་རྒྱུས་བ་སྡུས་གསལ་མེ་ལོང་།. བོད་ལྫོངས་མི་དམངས་ད་པེ་སྐྲུན་ཁང་། རྒྱ་ནག་།, ༢༠༡༤.
ज्याक्सन, डेभिड/Jackson, David. A History of Tibetan Painting: The Great Tibetan Painters And Their Traditions. Publishing Company of the Austrian Academy of the Sciences Vienna, 1996.
तामाङ, सिताराम. “भोटेजातिको इतिहास”. थ्वन्डेल, अं१, सं.१ १०६७, पाना.१-७।
तामाङ, अजितमान, तामाङ जातिको चिनारी, आदिवासि जनजाति राष्ट्रिय प्रतिष्ठान र नेपाल तामाङ ग्हेदुङ, २००२।
तामाङ, मोक्तान बि.बि., मोक्तान ह्रुअीको फोल्हा, मोक्तान समाज मक्वानपुर, २००९।
तामाङ, अजितमान, “अ स्केच ग्रामर अफ तामाङ”, काठमाडौं, २०११।
तामाङ, अजितमान र अन्य, तामयीग तामाङ लिपिमा तामाङभाषाको मानक लेख, अजितमान तामाङ, २०११।
तामाङ, अजितमान, प्राचीन तत्वीय सम्वत ल्होखोर च्युङनी, काठमाडौं, रीमठीम नेपाल, २०१२।
पाख्रीन, सन्तबिर, ताम्बाकाअीतेन ह्वाअीरीमठीम, काठमाडौं, रत्न पुस्तक भण्डर, २०१३।
पिसेल, इकल/Peissel, Micheal. Mustang, Alost Tibatan Kingddom. New Delhi: Book Faith India, 1992.
पिगनेड, बरनार्ड/Pignede, Bernard. The Gurung. Kathmandu: Ratna Pustak Bhandar, 1993.
फिसर, विलियम एफ/Fisher, William F. Fluid Boundries. Columbia University Press, 1951 .
बज्राचार्य, धनबज्र र कमलप्रकाश मल्ल, गोपालराज वंशावली, नेपाल रिसर्च सेन्टर, १९८५।
मोक्तान, बुद्धिमान, जिक्तेन तामछ्योअी र तामाङ वंशावली, ह्रामा,  दार्जिलिङ, १९५३।
रेग्मी, जगदिसचन्द्र, काठमाण्डौ शहरको सांस्कृतिक अध्ययन, टंगाल, काठमाणडौ, १९९४।
लामा, जि.डि, तामाङ च्युङनीला ठीम थेन तामछ्योअी, गान्तोक, सिक्किम, १९८३।
लामा, शंखबुद्ध, काल्पा ल्होग्युअी छ्योअीताम मानीगाम्भु, आदिवासी जनजाति, उत्थान राष्ट्रिय प्रतिष्ठान, काठमाडौं, २०१६।
शर्मा, जनकलाल, हाम्रो समाज एक अध्ययन, साझा प्रकाशन, २००१।
शाक्य, शान्ताहर्ष र मीन बहादुर, स्वयम्भू पुराण, नागार्जुन इन्सच्युट, २००१।
श्रेष्ठ, देवीचन्द्र, रत्न मल्ल र उनको समकालिक नेपाल मण्डल, आर्थिक नेपाल, २००२।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।