३ असोज २०७७
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा किसानको लागि ल्याएको कार्यक्रम ‘जसको मन उसैलाई संरक्षण’को अनुगमन गरेको छ । रोशी गाउँपालिकाको कृषि तथा पशुपन्छी क्षेत्रमा मन लगाएर काम गर्ने किसानलाई संरक्षण गर्ने नीति तथा कार्यक्रम अनुसार अनुदान सहयोग गरेका किसानहरुको कामको अनुगमन गरेको हो ।
बिहीबार गाउँपालिका अध्यक्ष डीबी लामा, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल लगायतको टोली स्थलगत अनुगमनमा पुगेका थिए । ‘जसको मन उसैलाई संरक्षण’ कार्यक्रम अन्तर्गत यस अघि पालिकाले तीन जना किसानलाई नगद सहित माछाका भुरा अनुदानमा वितरण गरेको थियो ।
अनुगमनको क्रममा अध्यक्ष डि.वि. लामाले रोशी गाउँपालिकाले कृषि तथा पशुपालनको क्षेत्रमा नमुना काम गर्ने जुन सुकै कृषकलाई साथ र सम्मान अनि संरक्षण गर्ने बताए । ‘यो क्षेत्र कृषि र पशुपालनको लागि अत्यन्त सम्भावना भएको क्षेत्र भएको हुनाले कृषकहरुलाई उत्प्रेरित गर्दै अगाडि बढिरहेका छौं ।’ लामाले भने, ‘कृषकले नमुना योग्य, व्यवसायिक, उत्पादनमुखी र उपलब्धिमूलक कार्य गरेर देखाउने कृषकलाई अनुदान, पुरस्कार र सम्मान सहित कार्यक्रम गर्दे आएका छौं ।’
प्रमुख प्रशासकीय अधिकृत दाहालले जसको मन उसैलाई संरक्षण अन्तर्गत माछापालनमा लागेका तीन किसानलाई माछाको भुरा र नगद अनुदान वितरण गरिसकेको बताए । ‘उत्साहित भई पोखरी खनेर देखाउन वडा नं ७ का भीम लामा, वडा नं. ९ का कुमार लामा र वडा नं ११ का बलराम आलेमगरलाई अनुदान दिइएको छ ।’ दाहालले भने, ‘ वडा न ७ र ९ का भीम र जनमलाई भने २१÷२१ हजार माछाको भुरा वितरण गरिएको छ ।’
त्यसैगरी आकर्षक पोखरी निर्माण गरे बापत कुमार लामालाई रु ३ लाख ५० हजार अनुदान प्रदान गरिएको थियो भने बलराम आले मगर र भीम लामालाई जनही रु २ लाख ५० हजारका दरले प्रदान गरिएको उनले जानकारी दिए ।
यस बर्षको वार्षिक कार्यक्रममा ‘जसको मन उसैलाई संरक्षण’ भन्ने मान्यतालाई आत्मसात गर्दै गाउँपालिका भित्र मौरी पालन गर्ने २ जना कृषकलाई ३ घार मौरी सहित पुरस्कृत गरिने, सबैभन्दा धेरै दूध उत्पादन गर्ने दुई कृषकलाई ३० हजार बराबरको बाछी किन्न अनुदान दिईने, सबैभन्दा धेरै बाख्रा पालन गर्ने दुई कृषकलाई रु ३० हजार बराबरको बाख्रा किन्न पुरस्कार दिइने उल्लेख गरिएको छ । यस आर्थिक बर्षका लागि कृषि तर्फ ४० लाख र पशुपालन तर्फ २५ लाख रकम पालिकाले विनियोजन गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















