३ असोज २०७७
बनेपा । संविधान दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लि. काभ्रेले आज एक कार्यक्रमको आयोजना गरी पनौती नगरपालिकामा रहेको श्री प्रणाम माइती बृद्धाश्रममा खाद्यन्न सहयोग गरेको छ । सहकारी संस्था÷संघहरुको सामाजिक उत्तरदायित्व अन्तर्गत संघले उक्त कार्यक्रम गरेको हो ।
पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघ लि.का अध्यक्ष विनोद पराजुलीले गरेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ लि. काभ्रेका सल्लाहाकार टिकाबल्लभ सापकोटा, सोमप्रसाद हुमार्गाइ, जिल्ला दुग्ध उत्पादन सहकारी संघ लि. काभ्रेका अध्यक्ष नारायण बडाल, सहकारी अभियन्ताहरु र संघका सञ्चालक, लेखा सुपरिवेक्षण समितिको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमलाई समबोधन गर्दै प्रमुख अतिथि भिम न्यौपानेले बृद्धाश्रमका लागि नगरले सहयोग गर्दै आइरहेको र आगामी दिनहरुमा पनि निरन्तरता दिएर यस वृद्धाश्रमको विकास र क्षमता विकासका कार्यहरुमा अझै उल्लेखनीय सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
दोलाखा, सिन्धुली, रामेछाप, नुवाकोट, रसुवा लगायत काभ्रेजिल्लाका ९ जना आमा तथा ११ जना बुबाहरु रहनु भएको उक्त आश्रम २०६८ सालदेखि शुरु गरिएको थियो । १७ जना व्यवस्थापन समिति रहेर शुरु गरिएको उक्त आश्रम हालसम्म विभिन्न दाताहरुको सहयोगमा सञ्चालन गरिएको छ । आश्रमका अध्यक्ष रघुनाथ तिमल्सिना तथा उपाध्यक्ष चुडामणी दाहालले जिल्ला सहकारी संघ लि. काभ्रेले यस्ता खालका कार्यहरुको सहयोग गर्नाले यस आश्रममा रहने बुवाआमाहरुका आवश्यकताहरु क्रमशः कम हँुदै जाने विश्वास ब्यक्त गरे ।
उक्त आश्रममा जिल्ला सहकारी संघले चामल, दाल, नुन, तेल, पानी फिल्टर, थाल, चम्चा, फलफूल, जुस, बिस्कुटलगायतका सामाग्रीहरुको सहयोग गरेको थियो ।
कार्यक्रममा सञ्चालक सदस्य कमला अधिकारीले स्वागत गरेकी थिइन् भने सञ्चालन संघका सचिव दिलिप शर्माले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।