५ असोज २०७७
नमोबुद्ध । काभ्रेको नमोबुद्धमा स्थापना हुन लागेको नेसनल युथ इनोभेसन इन्क्युबेसन सेन्टर (राष्ट्रिय युवा नवप्रवर्तन तथा इन्क्युबेसन केन्द्र) को काम सुरु भएको छ । राष्ट्रिय युवा परिषदको संयोजनमा नमोबुद्ध नगरपालिका र काठमाडौं विश्वविद्यालयको समन्वयमा केन्द्र स्थापना हुन लागेको हो ।
नमोबुद्ध नगरपालिका ८ आरुबारीचौरमा स्थापना हुने केन्द्रका विषयमा विहिबार स्थानीयबासीसँग छलफल गरिएको छ । हिजोको छलफलसँगै केन्द्रको काम सुरु गरिएको नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनालले जानकारी दिए । छलफलमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, आइडिया स्टुडियोका संस्थापक एवं काठमाडौं विश्वविद्यालय उपकुलपति कार्यालयका सल्लाहकार छिरिङ लामा लगायत सहभागी थिए ।
छलफलको क्रममा स्थानीयबासी एवं तत्कालिन गाविस अध्यक्ष उद्धवप्रसाद हुमागाईंले केन्द्र स्थापना हुन लागेकोमा खुशी व्यक्त गर्दै स्थानीयबासीको पुर्ण सहयोग हुने बताए । केन्द्र स्थापनापछि स्थानीय युवाहरुले आफ्नो दक्षता र सीप यहीँ प्रयोग गर्न पाउने र युवाहरु विदेशिने क्रम रोकिने अपेक्षा रहेको बताए । केन्द्रका लागि नगरपालिकाले उपलव्ध गराएको बाहेक आफूहरुको जग्गासमेत इनोभेसनका लागि दिन तयार रहेको उनले बताए ।
केन्द्र स्थापनाका लागि नगरपालिकाले करिब ५२ रोपनी जग्गा उपलव्ध गराएको छ । छलफलको क्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले देशभरिका दश हजार उत्कृष्ट नयाँ सोच र योजनामध्येबाट बार्षिक एक सय वटा योजनालाई केन्द्रमार्फत अन्तिम रुप दिएर आर्थिक समृद्धिका लागि प्रयोग गर्ने बताए । यो आर्थिक बर्षमा योजना निर्माण लगायतको काम सक्ने र आगामी बर्षबाट भौतिक निर्माणको काम अघि बढाउने ढुंगेलले बताए ।
‘यसै बर्षबाट युवाहरु छनोटसहित नवप्रवर्तनको काम पनि अघि बढ्ने छ ।’ उनले भने, ‘केन्द्र स्थापना गर्दा प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण गरिने छ विकाससँगै विनास आउँछ भन्ने चिन्ता नलिन स्थानीयबासीलाई म अनुरोध गर्न चाहन्छु । यहाँ भएकै स्थानीय उत्पादन, वन, जमिन, धार्मिक सम्पदानै नवप्रवर्तनको क्षेत्र हो ।’
छलफलमा आइडिया स्टुडियोका संस्थापक छिरिङ लामाले स्थानीयबासीको अभिभावकत्वमै केन्द्रको काम अघि बढ्ने बताए । स्थानीय उत्पादनदेखि सम्पदासम्म अनुसन्धान र नवप्रवर्तनको केन्द्र बन्ने उनको दावी छ ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले केन्द्रको काम सुरु भएकोमा खुशी व्यक्त गर्दै नवप्रवर्तन केन्द्रले समग्र नगरपालिकाको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । युवा विकासका निम्ति नगरपालिकाले अन्य संघसंस्था र निकायसँगको साझेदारीमा रोजगारी प्रवद्र्धन, उद्यमशिलता विकास लगायतका क्षेत्रमा लगानी गर्ने तिमल्सिनाले बताए ।
नवप्रवर्तन केन्द्रलाई राष्ट्रिय राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने तयारी भइरहेको छ । केन्द्रमा नविनतम सोच भएका सिर्जनसिल युवाहरुले आफ्नो सोचलाई परिस्कृत गरेर उत्पादनसँग जोड्न सक्नेछन् । नेपालमै पहिलोपटक स्थापना भएको यो केन्द्रमार्फत युवाहरुको नविनतम सोचमार्फत मुलुकको समृद्धिलाई महत्वपुर्ण योगदान दिने विश्वास गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















