५ भदौ २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २, च्युखाका किसानहरुलाई सिस्नु पाउडर प्रशोधन सम्बन्धी दुई दिने तालिम दिइएको छ । तेमाल गाउँपालिका, युएनडिपिको सहयोग र शान्ति जन आदर्श सेवा केन्द्र। काभ्रेको साझेदारीमा स्थानीय मिलिजुली कृषक समुहले उक्त तालिम दिईएको हो ।
स्थानीय किसानको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले आयोजना गरेको ‘सिस्नु पाउडर प्रशोधन’ सम्बन्धी दुई दिने तालिम पालिका उपाध्यक्ष दुर्गामाया तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएका छ ।

समापन कार्यक्रममा उपाध्यक्ष तामाङले तेमालमा सिस्नु पाउडर प्रशोधन कार्य गर्न सकिएमा स्थानीयको आम्दानीको दायरा फराकिलो हुने धारणा राखिन् । सिस्नुमा औषधिय गुण भएकोले सबैको ध्यान तानेकोले यो तालिमको सार्थकता हुने बताइन् ।
‘हिजो गरिवको चुलोचौकामा मात्रै पाक्ने सिस्नु आज सबैले स्वीकार गर्ने स्थिती छ, यसमा औषधिय गुण भएकोले पनि सबैको ध्यान तानेको छ ।” उनले भनिन्, ‘महिला उद्यमशीलताका लागि संकलन केन्द्र निर्माणदेखी बजारकिरणसम्म आवश्यक छ, यसको सुरुवात तेमालको वडा नं. २ बाट भएको छ ।’ उपाध्यक्ष तामाङले तेमालभरी बिस्तारका लागि आफूहरु सदैव साथ दिन तयार रहेको बताईन् ।
कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष तिमाल सिं तामाङले तालिमले किसानहरुलाई स्वरोजगार र आर्थिक हिसाबले आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्दै पालिका, दातृ संस्थाहरुको सहयोगप्रति धन्यबाद दिए ।
तालिम पछि आफूहरुले छिट्टै अग्र्यानिक सिस्नु पाउडर बजारमा पुर्‍याउने लक्ष्य लिएको बताए । ‘सिस्नु ड्रायर मेसिन, पिस्ने, जोख्ने मेसिन लगायतका औजारहरु व्यवस्थापन भइसकेको छ ।’ दोङले भने, ‘छिट्टै अग्र्यानिक सिस्नु पाउडर बजारमा पु¥याउने लक्ष्य लिएका छौं ।’
शान्ति जनआदर्श सेवा केन्द्रकी कार्यक्रम संयोजक कमल लामाले तालिम फलदायी भएको बताइन् । तालिमका प्रशिक्षक सञ्चित आलेमगरले यसलाई उद्योगको रुपमा स्थापित गर्न आवश्यक रहेकोमा जोड दिए ।
तालिम पाएपछि स्थानीय किसान उत्साहित भएका छन् । तालिम पाएपछि दैनिकरुपमा खेरा गइरहेको सिस्नुबाटै मनाग्य आम्दानी हुने स्थानीय किसानले देख्न थालेका छन् । ‘कता कता सुनेको मात्रै थिएँ, आफैं सहभागि हुन पाएँ, सिस्नु पाउडर प्रशोधन गरी बेच्दा पैसा कमाउने रहेछ ।’ –तालिममा सहभागि बोइमो तामाङले बताइन् ।
सिस्नु मुटुरोग, दम, हाड जोर्नी, बाथ रोग, चिनी रोगका बिरामिहरुका लागि औषधितुल्य हुने भएकोले नेपालमा यसको माग अनुसार आपूर्ति हुन सकेको छैन ।
कार्यक्रममा तेमाल गाउँपालिकाकी कार्यपालिका सदस्य पार्वती श्रेष्ठ, वडा सदस्य डिल्लीमान दोङ लगायतका सहभागीता रहेका थिए ।

Comments

comments